
बैतडी – भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका नाकाहरु तीन दिन बन्द हुने भएका छन् ।
भारतमा रहेको झुलाघाट जिल्ला र धार्चुलामा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै सीमानाका तीन दिन बन्द हुन लागेका हुन् ।
पहिलो चरणमा भारतको झुलाघाटमा अक्टोबर ५ तारेख (असोज १८ गते) मा निर्वाचन हुने भएपछि बैतडीको भारतसँग जोडिएको झुलाघाट नाका यही असोज १६ गतेदेखि १८ गतेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
उनका अनुसार असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तराष्ट्रिय सीमा (पुल) बन्द हुनेछ । दशैँको समयमा सीमानाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।
दार्चुलाको सीमापारि रहेको धार्चुलामा पनि दोस्रो चरणको निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुला नाका पनि बन्द हुने जनाइएको छ ।