
विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध राष्ट्र निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वले अनेकतामा एकता ल्याएको बताए ।
मुख्यमन्त्री राईले देश क्रमशः शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढेको भन्दै सुशासन, विकास र राजनीतिक स्थिरता कायम गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।
निजी क्षेत्रको लगानी बढाउन प्रदेश सरकारले प्रदेशभर सार्वजनिक जग्गाको खोजी गरिरहेको उनले बताए ।
“सार्वजनिक जग्गाको उपयोग गर्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाएर उद्योग स्थापनामा जोड दिँदै आएको छ”, उनले भने ।
मुख्यमन्त्री राईले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने वातावरण बनाउन प्रतिबद्धता व्यक्त गरे ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले चाडपर्वले उद्योगी एवम् व्यापारीको ऊर्जा बढाउन प्रेरणा मिलोस् भनी शुभकामना दिए ।