०३ साउन २०८३, आइतबार

हिजो दिनभरः सभामुख पद रिक्त, समय किटान गरी राजीनामा आएकोमा काँग्रेस असन्तुष्ट

हिजो दिनभरः सभामुख पद रिक्त, समय किटान गरी राजीनामा आएकोमा काँग्रेस असन्तुष्ट

सभामुख कृष्णबहादुर महराले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । यौन प्रकरणमा मुछिएपछि उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् । 

    सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उनले भनेका छन्, सोमबारदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा मंगलबारैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’
यसअघि नेकपा सचिवालय बैठकले उनलाई राजीनामा दिन सुझाएको थियो । 

यसैबीच आरोप लगाउने महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै कुरा फेरेपछि यो प्रकरणमा नयाँ ट्वीस्ट आएका छ  ।  प्रहरीले भने यो विषयमा उजुरी दिन पीडितले आनाकानी गरेको बताएको  छ । 

सभामुख पद रिक्त 
पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेखेको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिएका महराले मंगलबारैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गरेका छन् । 

    नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । सभामुख महराले आपूmमाथि लागेको आरोपबारे सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा  राजीनामा दिएको उपसभामुखलाई सम्बोधन गरेर लेखेको पत्रमा उल्लेख छ । नेम्वाङ भन्छन्,  “नेकपाका कुनै पनि तहमा रहेका व्यक्तिबाट हुने अपराध, विकृति र विसङ्गतिमा दल जोडिनुहुन्न, स्वयम् व्यक्ति जिम्मेवार हुन्छ भन्नेमा हामी प्रष्ट मान्यता राख्छौँ । ”

     प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख महरासँग लागेको आरोपका सम्बन्धमा  जानकारी लिएपछि बसेको नेकपाको सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन सुझाव दिएको थियो । घटनाका बारेमा आउन सक्ने विभिन्न खाले टीकाटिप्पणीले पार्टीलाई पुग्न सक्ने असरको आकलन र घटनाको गम्भीरतालाई बुझेर सभामुख महरालाई तत्कालै तत्काल राजीनामा दिन लगाउने निर्णय भएको पार्टी स्रोतले जनाएको छ । 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सञ्चारकर्मीको जिज्ञासामा भनो, “ जो  कसैबाट कानून उल्लङ्घन र अपराध हुन्छ भने उसले कानूनको भागीदार बन्नुपर्छ । कानून सबैका लागि बराबर हो ।” घटनालाई ठीक ढङ्गबाट समयमै सम्बोधन हुन नसकेमा बढी उछालिन सक्ने आकलन सचिवालय बैठकले आकलन गरेको स्रोतको जिकिर छ । 

    महराले पार्टीको निर्णयानुसार अपराह्न स्वकीय सचिव सागर केसीमार्फत उपसभामुखको सचिवालयमा राजीनामा पठाएका थिए । 
 पीडित पक्षबाट घटनाका सम्बन्धमा सूचना दिइएपछि पुगेको घटनास्थल र प्रमाणको सुरक्षाको पाटोमा पनि आवश्यक ध्यान नपु¥याइएको भनी प्रहरीको कामको आलोचना भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापाले घटनाको सूचना प्राप्त हुनासाथ संवेदनशील घटनाका रूपमा लिएर पीडितसँग तत्कालै आवश्यक जानकारीका साथै घटनास्थलको भिडियो स्केच लिइएको र पीडितसँग कानूनी परामर्श भएको जानकारी दिए ।  घटनास्थलमा प्रयोग भएका भनिएका चश्मा, रक्सीको बोतल, जुत्तालगायत वस्तु सङ्कलन गरी सुरक्षित रूपमा राखिएको उनले  जानकारी दिए । 

समय किटान गरी राजीनामा आएकामा आपत्ति 
 
    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुख कृष्णबहादुर महराको राजीनामाका सम्बन्धमा ‘छानबिन प्रक्रिया नसकिँदासम्म’ भनेर समयावधि किटान गरी आएको भन्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने जनाएको छ । 
 
    काङ्ग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता शर्माले सभामुख महरामाथि गम्भीर प्रश्न उठेकामा दुःखित र स्तब्ध भएको उल्लेख गर्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने पार्टीको धारणा सार्वजनिक गरेका हुन् । उनले भने, “जिम्मेवारी परित्याग गरेर छानबिनलाई निष्पक्ष ढङ्गले अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, तर छानबिन गर्न एक वर्ष लाग्यो भने एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने त ?” उनले सबै नागरिक कानूनका दृष्टिमा समान भएकाले यो प्रकरण पनि कानूनअनुसार नै अघि बढाउनुपर्ने माग गरे ।  
कोजाग्रत पूर्णिमामा चियापान  
 
    काँग्रेसले जननायक बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयदेखि नै काङ्ग्रेसले चियापन कार्यक्रम गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि यही असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन अपराह्न १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गर्दैछ । यस कार्यक्रममार्फत सद्भाव आदान–प्रदानको निरन्तरता हुने प्रवक्ता शर्माले बताए ।  विगतमा केन्द्रीय रूपमा मात्रै आयोजना गरिने दशैँ, तिहार र नेपाल संवत्का अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापान कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिए झैँ यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यकाबाहिर ७४ जिल्लामा काङ्ग्रेस जिल्ला कार्यसमितिहरूको आयोजनामा सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ । 

सुन तोलाको ८०० ले घट्यो

    दशैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

    सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा मंगलबार चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । 

    पछिल्लो दुई÷तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ । 

उपत्यकाका दुई प्रहरी वृत्तको उद्घाटन 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताएका छन् ।  

महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको मंगलबार छुट्टाछुटै उद्घाटन गर्दै उनले कानून कार्यान्वयन गरी अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताए । 

विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च
डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई दशैँ खर्च पठाएका छन् । 
 
    सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरूको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही रु पाँच हजार खर्च पठाएका हुन् ।  ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् । 

    उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । 

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो । 
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो 
    
    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ । 

    नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये मंगलबार तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन् । 

    यस्तै बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ । कारोबारका आधारमा मंगलबार नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख २५ हजार कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्टको रु चार करोड ३० लाख तीन हजार ५१७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु तीन करोड ३१ लाख ८७ हजार ९९६, मेगा बैंक रु एक करोड ३४ लाख ९७ हजार २७३, नेपाल दूरसञ्चार कम्पनी रु एक करोड २९ लाख ५० हजार ८०५, हिमालयन डिस्ट्रिलरी रु एक करोड ६ लाख ८७ हजार ७२० र सिद्धार्थ बैंक रु ९५ लाख २७ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।

    घुस लिएको अभियोगमा पक्राउ
 
    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

    शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिएको अभियोग उनीहरूमाथि लागेको छ । आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

विश्वकप छनोट खेलको लागि खेलाडी छनोट

    सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

    यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । 

    त्यस्तै डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

     नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्