२९ असार २०८३, सोमबार

मापदण्डविपरीत खोटो संकलनले वन क्षेत्र संकटमा

मापदण्डविपरीत खोटो संकलनले वन क्षेत्र संकटमा
फाइल तस्वीर

जाजरकोट –जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ । 

जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९ सामुदायिक वनमा मापदण्डविपरीत जथाभावी खोटो खोटो सङ्कलन गर्दै आएपछि सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको हो । 

नियमानुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन कार्यविधिमा उल्लेख छ । त्यस्तै कार्यविधिमा जमीनको सतहबाट एक मिटर ३० सेन्टिमिटर उचाइमा ३० सेन्टिमिटरभन्दा बढी ब्यास भएका सल्लाको रूखबाट मात्र खोटो निकाल्न पाइने व्यवस्था छ । तर त्यसको पालना भएको छैन ।

कार्यविधिमा उल्लेख गरिएको भन्दा कम व्यासका रूखबाट खोटो निकालेर प्रयोग गर्दा सल्ली रुख सुक्ने समस्या देखिएको छ । जाजरकोट ढिमेका राधिका मल्लले जङ्गलका सबै रूखमा चारैतिरबाट पटक–पटक खोटो निकाल्दा सल्लेरी वन विनाश हुँदै गएको बताए।

सल्लेरी वनका रूख सुक्नुको अर्को कारण अधिक मात्रामा एसिड प्रयोग गर्नु पनि हो । खोटो कम्पनीहरूले खोटो बढी झार्नका लागि सल्फ्युरिक एसिडको प्रयोग गरेका कारण बढी समस्य देखिएको हो । यसले सल्लाको रूखलाई सुकाउने डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाईले बताए । उनका अनुसार एउटा रूखमा दुईभन्दा बढी बेलेज (खोटो स्राव गराउने बाटो) बनाउनु, जङ्गलमा रहेका सबै रूखबाट खोटो निकाल्नु र आवश्यकताभन्दा बढी मात्रामा एसिडको प्रयोग गर्नुजस्ता कारणले सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै आएको छ ।
 
अनुगमनका क्रममा मापदण्डविपरीत खोटो सङ्कलन गरेको देखिए पनि कारवाही गर्न भने नसकेको उहाँले स्वीकार गर्नुभयो । गत आर्थिक वर्षमा एउटै सामुदायिक वनले रु ५० लाखसम्मको सल्लाको काठ बेचेको पाइनु वन विनाशको अवस्था छर्लङ्ग हुने उनको भनाइ छ ।

जाजरकोट सामुदायिक वनबाट खोटो निकाल्ने काम दुई दशकयता हुँदै आएको हो । खोटो निकाल्ने कार्य व्यवस्थितरूपमा अघि नबढ्दा व्यापार–व्यवसायको नाममा वन विनाश भइरहेको स्थानीयवासी बताउँछन् । 

खोटो सङ्कलनको नाममा भइरहेको वन विनाशबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता हुने गरेको स्थानीयवासीको भनाइ छ ।

जथाभावी रूपमा खोटो सङ्कलन गर्ने काम बन्द गर्नुपर्ने धारणा स्थानीयवासीको छ । 'खोटो सङ्कलकलाई छाडा छाड्दियो भने १० वर्षमा सल्लाघारी पूरै सखाप हुनेछ', स्थानीयवासी बताउँछन्, 'जङ्गलको नियमित निरीक्षण र अनुगमन शून्य छ ।' जङ्गलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्राभन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्ड विपरीत भएको जिल्ला वन कार्यालयले जनाएको छ । 

खोटो सङ्कलक कम्पनीले वार्षिकरूपमा खोटो सङ्कलन तथा निकासी गर्न पाएको अनुमतिभन्दा दोब्बर सङ्कलन गर्ने गरेका छन्  । कार्यविधिमा हरेक वर्ष चैतदेखि कात्तिकसम्म खोटो सङ्कलन गर्ने समय तोकिएको छ । खोटो निकाल्नका लागि एउटा रूखमा अधिकतम ३२ जोडी रिल बनाउनुपर्छ । कम्पनीले भने छोटो समयमा धेरै खोटो निकाल्न सय जोडी रिल बनाउने गरेका छन् । यसले अनुमति लिएकाभन्दा दोब्बर मात्रामा खोटो निकालिने गरेको डिभिजन वन प्रमुख कुमाईले बताए ।

जाजरकोटको शिवालय गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाका चार दर्जन सामुदायिक वनबाट खोटो सङ्कलन हुने गरेको छ । 

जाजरकोटका जङ्गलबाट बाँकेका जयबागेश्वरी रोजिन र देउती रोजिन एण्ड टर्पेन्टाइन उद्योग, कपिलवस्तुको स्वस्तिक रोजिन एण्ड टर्भेन्टाइन, रूपन्देहीको एभरेस्ट हर्बल एण्ड रोजिन र माउण्ट रोजिन एण्ड टर्पेन्टाइनले खोटो सङ्कलन गरेर निकासी गर्ने गरेका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ३२ हजार २७ केजी खोटो निकासी गरेका थिए । सामुदायिक वनले खोटोबाट रु एक करोड ७२ लाख आम्दानी गरेका छन् ।

यता डिभिजन वनले सामुदायिक वनको खाता रोक्का गरेको बताएको छ । जथाभावी भएपछि समूहका खाता रोक्का गरिएको कुमाईले बताए। हेमन्त केसी,रासस

salt training

कमेन्ट गर्नुहोस्