काठमाडौँ, २१ चैत -निर्वाचन आयोगमा धर्ना दिन जाँदा पक्राउ परेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ११ घन्टापछि मुक्त भएका छन् ।

आइतबार बिहान निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै भट्टराईसहित ४७ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दलीय निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन पाउनुपर्ने माग राख्दै आइतबार बिहान निर्वाचन आयोग घेर्न पुगेका पूर्वप्रधानमन्त्री भट्टराईसहित ४७ नेतालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले जानकारी दिए । आइतबार बेलुका करिब ९ बजे उनी प्रहरी नियन्त्रणबाट मुक्त भएका थिए । नियन्त्रणका क्रममा आफू र आफ्ना नेताहरूमाथि दुव्र्यवहार र दमन भएको भन्दै भट्टराईले मुक्त भएलगत्तै पत्रकार सम्मेलन गरी सरकारको आलोचना गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भट्टराईलाई टेलिफोन गरेका थिए, नयाँ पत्रिकामा खबर छ । निधिले निषेधित क्षेत्रको घेरा तोडेकाले मात्रै नियन्त्रणमा लिइएको जानकारी गराउँदै अन्य कुनै मनसाय नरहेको भट्टराईसँग बताएको नेता तामाङले जानकारी दिए । जवाफमा भट्टराईले दलीय निर्वाचन चिह्न लिएर स्थानीय तहको निर्वाचनमा भाग लिने व्यवस्था सरकारले नगर्दासम्म प्रहरीको घेराबाट बाहिर ननिस्कने बताएका थिए । उनले आफूहरूलाई दलीय चुनाव चिह्न नदिए स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएको तामाङले जानकारी दिए ।