२२ असार २०८३, सोमबार

सञ्चारमन्त्रीको दावी : तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुन्छ

सञ्चारमन्त्रीको दावी : तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुन्छ
फाइल तस्वीर

काभ्रेपलाञ्चोक –सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गरेका हुन् । 

मन्त्री बाँस्कोटाले भने, 'हामीलाई गरीबी चुनौती बनेको छ, सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ ।' उनले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि बताए। 

मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको बताए। 'हामी सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा छौँ,' उहाँले भने । समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठेरोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अहिले नेताको आफ्नो सफलता नभइ जनताको आफ्नो पसिना, बुद्धिविवेकको मूल्यको सफलता भएको उल्लेख गरे। 

मन्त्री बाँस्कोटाले वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने बताए। उनले भने, 'काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।' सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उहाँले जिकिर गरे। 

मन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गरे। 'व्यक्तिले गरेको गल्तीको भागीदार स्वयं व्यक्तिनै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील सङ्गठीत संस्था हो,' उनले भने । आर्थिक रुपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनले बताए।  

मन्त्री बाँस्कोटाले वर्तमान प्रधानमन्त्री कुनै महाराजाको छोरा नभइ स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको बताए। उनले भने, 'उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँलाई जनताका दुःखपीर मर्का सबै अनुभव छ, तीनलाई कसरी सुखी र खुशी बनाउने भनेर उहाँ सोचिरहनुहुन्छ, हामी पनि उहाँको सपनालाई साकार पार्ने अभियानमै छौँ ।' उनले अघिल्लो पुस्ताको ज्ञान लिन सबै स्थानीय तहमा ज्ञान हस्तान्तरण केन्द्र खोल्ने तयारीमा रहेको जानकारी दिए। 

कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे, नेकपाका नेता रामहरि सुवेदी, हरिदेव गिरी, भैरव केसी, कुमार तिमल्सिना, मुक्ति विष्टलगायतले शुभकामना व्यक्त गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्