काठमाडौँ, २१ चैत - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिचौलियाको आर्थिक प्रभावमा घरेलु कामदार निर्देशिका कार्यान्वयन गर्न खाडीस्थित नेपाली दूतावासलाई दबाब दिएको र नेपाली महिलाको बेरोकटोक तस्करी रोक्न कुनै प्रयास नगरेको भन्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले महतसहित त्यस निर्णयमा संलग्न पदाधिकारीलाई छानबिन गरी कडा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आइतबार निर्देशन दिएको हो । समितिले घरेलु कामदारसम्बन्धी ठोस कानुन नबन्दासम्म र नेपालसँग दुईपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णत: बन्द गर्नसमेत मन्त्रिपरिषद्लाई निर्देशन दिएको छ ।
श्रम मन्त्रालयले साउदी र कुवेतसँग घरेलु कामदारसँग श्रम सम्झौता गर्न गृहकार्य गर्दै आएको छ ।
समितिका सभापति प्रभु शाहको अध्यक्षतामा बसेको बैठकले दूतावासले दिएको सुझावविपरीत परराष्ट्र मन्त्रालयबाट दबाब आएको देखिएको भन्दै छानबिन गर्न निर्देशन दिएको हो, कान्तिपुरमा खबर छ ।