
फिदिम –विद्यार्थीको अभाव भएपछि पाँचथरको याङवरक गाउँपालिकाका छ वटा आधारभूत विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको छ ।
यहाँका तीन आधारभूत विद्यालयमा आधारभूत तह उमेरका विद्यार्थीको सङ्ख्या शून्य भएको छ भने तीन विद्यालयमा आधारभूत तहका विद्यार्थी आवासीय विद्यालयमा रहने भएपछि विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो ।
शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाभित्रका विद्यालयको पुनःसंरचना एवं व्यवस्थापन थालेको गाउँपालिकाले जनाएको छ ।
विद्यालय विद्यार्थीविहीन भएपछि यहाँका विभिन्न छ विद्यालयका सात जना शिक्षकलाई अन्य विद्यालयमा काज सरुवा गरिएको छ । विद्यार्थीविहीन अवस्थामा पुगेका विद्यालयलाई पूर्वप्राथमिक तह सञ्चालन हुनेगरी बालविकास केन्द्रमा रुपान्तरण गरिएको छ । विद्यार्थी कम भएका विद्यालयका शिक्षकलाई विद्यार्थीको चाप बढी भएका विद्यालयमा काज सरुवा गरिएको हो । साविकका विद्यालयमा विद्यार्थी भएको खण्डमा सरुवा भएका शिक्षकको काज फिर्ता गरिने याङवरक गाउँपालिकाको शिक्षा विकास एकाइका प्रमुख रामप्रसाद ढकालले जानकारी दिए।
याङवरक गाउँपालिका वडा नं १ खर्कगाउँको जनचेतना आधारभूत विद्यालयमा जम्मा छ जना विद्यार्थी थिए । कक्षा ३ सम्म चलेको यो दुर्गम बस्तीका बालबालिकाले याङवरक– १ कै विष्णु माध्यमिक विद्यालयमा स्थापना गरिएको आवासीय विद्यालयमा अध्ययन गर्ने भएपछि उक्त विद्यालयमा कार्यरत शिक्षकलाई सिंहकाली आधारभूत विद्यालयमा सरुवा गरिएको छ । कक्षा ८ सम्म अध्यापन हुने सिंहकालीमा पाँच शिक्षक दरबन्दी छ भने करीब १८० जना विद्यार्थी अध्ययनरत छन् ।
यस्तै दुर्गम मानिएको बर्मे बस्तीका बालबालिका समेत आवासीय विद्यालयमा आउने भएपछि यहाँ रहेको तिम्बुपोखरी आधारभूत विद्यालयका दुई शिक्षक शिक्षिकालाई विष्णु माध्यमिक विद्यालयमा सरुवा गरिएको छ ।
यसैगरी तीन जना विद्यार्थी रहे पनि उनीहरु आवासीय विद्यालयमा आउने भएपछि याङवरक– २ चिङ्मामा रहेको कृष्ण आधारभूत विद्यालयका शिक्षकलाई नारायणी माध्यमिक विद्यालय तीनतिम्बू सरुवा गरिएको छ । कक्षा १० सम्म सञ्चालित यस विद्यालयमा न्यूनतम १२ शिक्षक हुनुपर्नेमा हालसम्म १० जना मात्रै रहेको शिक्षा एकाइ प्रमुख ढकालले जानकारी दिए।
याङवरक– १ को महाकाली आधारभूत विद्यालय पेरुङ्गेमा चार विद्यार्थी भए पनि उनीहरु विद्यालय उमेरका छैनन् । गाउँपालिकाले यहाँ पूर्वप्राथमिक कक्षा सञ्चालन गर्नेगरी सहयोगी कार्यकर्तालाई मात्रै राखेर अर्का शिक्षकलाई सिंहदेवी आधारभूत विद्यालय हमरजुङमा सरुवा गरेको छ । कक्षा ८ सम्म अध्ययन हुने उक्त विद्यालयमा पाँच शिक्षक दरबन्दी छ भने करीब ११० विद्यार्थी छन् ।
यता गाउँपालिकाको केन्द्र नजिकैको चोलुङ आधारभूत विद्यालयमा यस वर्ष विद्यार्थी भर्ना शून्य भयो । जहाँ विद्यालय उमेरका अन्य विद्यार्थी अध्ययनरतसमेत छैनन् । गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई थर्पु माध्यमिक विद्यालयमा सरुवा गरेको छ ।
यसैगरी पाथीभरा आधारभूत विद्यालय अर्चलेमा पाँच विद्यार्थी रहेको तथ्याङ्क देखाइयो । तर गाउँपालिकाको खोजीपछि पत्ता लाग्यो यहाँ अध्ययन गर्ने भनिएका दुई विद्यार्थी गणेश माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका रहेछन् । यस्तै एक नागी बोर्डिङ स्कुलमा अध्ययनरत थिए भने दुई विद्यार्थी फर्जी रहेको पत्ता लाग्यो । गाउँपालिकाले यहाँ कार्यरत एक शिक्षकलाई सरस्वती आधारभूत विद्यालय मुकुबुङ र अर्कालाई आगेजुङ आधारभूत विद्यालयमा सरुवा गरेको छ ।
बसाइँसराइ, सन्तान उत्पादनको घट्दोक्रम, वैदेशिक रोजगारी र युवा पलायनले ग्रामीण विद्यालयमा वर्षेनी विद्यार्थीको सङ्ख्या घटिरहेको याङवरक गाउँपालिकाको शिक्षा विकास एकाइका प्रमुख ढकालको भनाइ छ । 'अहिले पठनपाठनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने, विद्यार्थी नै नभएको विद्यालयमा रहेका शिक्षकलाई अर्को विद्यालयमा काम गर्ने व्यवस्था मिलाइएको हो', ढकालले भने,'विद्यालय गाभिएको होइन । अनावश्यक ठाउँबाट आवश्यक ठाउँमा काज सरुवा गरिएको हो ।'पछि विद्यार्थी भएको अवस्थामा शिक्षकलाई साविककै दरबन्दीमा काज फिर्ता गरिने ढकालले जानकारी दिए।
याङवरक गाउँपालिकाले गाउँपालिकाभित्रका ३२० पूर्वप्राथमिक विद्यालय तहका विद्यार्थीका लागि खाजाको व्यवस्था गरेको छ । प्रतिविद्यार्थी दैनिक रु १५ का दरले हुनेगरी खाजा रकमको प्रबन्ध गरिएको हो । गाउँपालिकाले आगामी शैक्षिकसत्रबाट गाउँपालिकाभित्र विद्यालयको हिउँदे, वर्षे तथा चाडपर्वको बिदामा एकरुपता ल्याउने शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने भएको छ । रवीन्द्र काफ्ले,रासस