
भक्तपुर – सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गरेका छन् ।
वडा कार्यालयले शनिवार दधिकोटको चित्रपुरमा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका उनले लालपूर्जाविहीन परिवारलाई लालपूर्जा वितरण गरेका हुन् ।
सयौं वर्षदेखि चित्रपुर बस्तीका रुपमा रहेको परम्परागत बस्तीका वासिन्दाले अहिलेसम्म लालपूर्जाविहीन हुँदा आफ्नै जग्गा र घरको भोगचलन गरेपनि अन्य प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन् । भूकम्पमा सिंगो बस्ती भत्किँदासमेत राहत लिन निकै समस्या परेको स्थानीय वासिन्दाले अहिले भूकम्पबाट भत्किएका घर बनाएपछि भने लालपूर्जा पाएका छन् ।
लालपूर्जा वितरण गर्दै पूर्व मन्त्रीसमेत रहेका बस्नेतले गत निर्वाचनमा यहाँका लालपूर्जाविहीन वासिन्दालाई लालपूर्जा दिलाइदिने प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नै पहलमा लालपूर्जाको व्यवस्था गरी शनिवार वितरण गरेर आफ्नो घोषणा साकार पार्न सफल भएको बताए । उनले लालपूर्जा वितरणदेखि विपदमा राहत वितरणमा कुनै दल हेरेर विभेद नगरेको उल्लेख गरे ।
उनले लालपूर्जा पाएपछि अब आफ्नै घर धितो राखेर छोराछोरी पढाउनदेखि व्यवसाय गर्नसमेत बाटो खुलेको चर्चा गरे । चित्रपुरमा क्रसरोड बनाउन लागेको चर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुँदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाँडा हुँदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताए ।
कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद शशीजंग थापाले भक्तपुरमा विकासको मूल फुटेको बताउँदै संघ, प्रदेश र स्थानीय तहको बजेटले २ वर्षको अन्तरालमा गाउँ गाउँमा विकासका लहर आएको उल्लेख गरे ।
त्यसअवसरमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले २ वर्षमा विकासमा निकै लामो फड्को मारेको र अबका ३ वर्षमा विकासले पूर्णता पाउने बताए ।
वडा नम्बर ४ दधिकोटका अध्यक्ष उत्तम थापालगायत विभिन्न व्यक्तिले विकासका गतिलाई रोक्न र अवरोध पुर्याउन नहुनेबारे चर्चा गरेका थिए ।