
काठमाडौं – राष्ट्रियता धरमराएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका छन् । नेपालीहरूको महान चाड दशैंको शुभकामना सन्देश जारी गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जनान खोज्दा भलो नहुने बताउँदै उनले राष्ट्रको विधि र व्यवस्था सर्वग्राह्य हुनुपर्नेमा जोड दिए । उनले एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमि कमजोरीलाई ढाकछोप गर्ने प्रवृति राम्रो नहुने उल्लेख गरे ।
पूर्वराजा शाहद्वारा जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘ हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको अरू केही हुनु हुँदैन । भगवानको आशीर्वादले यो देश आफैं उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ । तर राष्ट्रियता धरमराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन ।’
उनले भनेका छन्, ‘त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीको साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ ।