१६ असार २०८३, मंगलबार

जीप दुर्घटना एकको मृत्यु

जीप दुर्घटना एकको मृत्यु

नेपालगञ्ज - नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिए ।

भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्