२६ असार २०८३, शुक्रबार

धुलो रोक्ने महानगरको अभियानमा कांग्रेस प्रतिनिधिको अवरोध

धुलो रोक्ने महानगरको अभियानमा कांग्रेस प्रतिनिधिको अवरोध
फाइल तस्वीर

काठमाडौं – काठमाडौं खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्याधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरू भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ ।  

नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीकै उपस्थितिमा काममा अवरोध गरिएको हो ।

दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पुर्‍याइएको छ ।

धुलो रोक्ने उद्देश्यले गत बुधबारको महानगरको निर्णयअनुसार गाडीको चाप हुने ठाउँमा ढलान र अन्य क्षेत्रमा कालोपत्रे गरेर धुलो रोक्न जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सलाई जिम्मा दिइएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। 

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्रेलगायतको काम जारी छ । सोही क्रममा खुलामञ्चबाट धुलो उडेर आसपास क्षेत्र प्रभावित हुने भएकाले अस्थायी समाधानका लागि यहाँ काम गर्न लागिएको थियो तर जनप्रतिनिधिकै उपस्थितिमा उक्त काममा अवरोध गरिएको हो । 

सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आइतवार बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताइन्। 'हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिनुभएको थियो, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्', खड्गीले भनिन्। 

उनले कालोपत्रे मात्रै गरिएको भए समस्या नआउने भन्दै ढलान गर्न खोज्दा समस्या आएको बताइन्। यस क्रममा आज बिहान यहाँ लगाइएको बारसमेत भत्काइएको छ भने भर्खरै ढलान गरिएको स्थानमा गाडी गुडाएर क्षति पुर्‍याइएको छ । 

महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताए। 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले कालोपत्रे गर्ने ठाउँमा डण्डी राखेर ढलान गरेको भन्दै विवाद निस्किएको देखिएको बताएका छन् । प्रहरीका अनुसार अवरोधका क्रममा खुलामञ्चमा जनप्रतिनिधिसहित सम्पदा संरक्षण अभियानका प्रतिनिधि सहभागी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्