
काठमाडौं – जलवायु अभियन्ता ग्रेटा थनबर्गको पुत्ला बनाएर इटलीको राजधानी रोममा रहेको एउटा पुलमा झुण्ड्याइएको पाइएपछि अधिकारीहरूले अनुसन्धान थालेका छन् ।
सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा देखिएअनुसार पुत्लामा शिरवस्त्र र लामो चुल्ठो राखिएको छ अनि अंग्रेजीमा ग्रेटा तिम्री देवी हुन् लेखिएको छ ।
इटलीका अधिकारीहरूले सोमवार यसको अनुसन्धान थालेका छन् ।
रोमकी मेयर भर्जिनिया राग्गीले यसको भर्त्सना गर्दै रोम शहर थनबर्ग परिवारको साथमा रहेको सन्देश ट्विटरमा दिइन् ।
वामपन्थी पीडी दलका नेता निकोला जिंगारेट्टीले यो वीभत्स हिंसा भएको भन्दै आलोचना गरे र आफ्नो दलले पुत्ला झुण्ड्याउनेहरूको मूल्यमान्यताको सम्मान नगर्ने बताए ।
१६ वर्षीया स्विडिश अभियन्ता थनबर्गले पोहोर साल फ्राइडेज फर फ्युचर अभियान थालनी गरेकी थिइन् । उनले विश्वभरका मुलुकका विद्यार्थीलाई आआफ्ना देशका संसद् भवन बाहिर प्रदर्शन गर्दै जलवायुका लागि काम गर्न सरकारलाई आह्वान गर्न भनेकी थिइन् ।
अघिल्लो महिना उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा कडा भाषण दिँदै विश्वनेताहरूलाई जलवायु संकटको सम्बोधन गर्न भावुक अपील गरेकी थिइन् ।
एजेन्सी