
काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल र भारत भ्रमणको औपचारिक कार्यक्रम एकैपटक घोषणा भएको छ । तीनवटै देशका विदेश मन्त्रालयले बुधवार एकै समयमा राष्ट्रपति शीको भ्रमणको कार्यक्रम घोषणा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले अक्टोबर १२ र १३ तारिख अर्थात असोज २५ र २६ गते नेपाल भ्रमण गर्न लागेको जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधवार नै राष्ट्रपति शी ११ देखि १३ तारिखसम्म भारत र नेपालको भ्रमणमा निस्कन लागेको जनाएका छन् । चिनियाँ समाचार संस्था पिपुल्स डेलीका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दोस्रो अनौपचारिक भेटका लागि भारत भ्रमणमा जाने कार्यक्रम तय भएको जनाएको छ ।
बुधवार नै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी चेन्नईमा हुने दोस्रो अनौपचारिक शिखरवार्ताका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले ११ र १२ तारिखको दिन भारत भ्रमण गर्न लागेको जनाएको छ ।
राष्ट्रपति शी र भारतीय प्रधानमन्त्री मोदीले सन् २०१८ को अप्रिल २७ र २८ मा चीनको वुहानमा पहिलो अनौपचारिक शिखरवार्ता गरेका थिए ।
शिखरवार्ताका क्रममा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय एजेन्डाका विषयमा कुरा गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपालको राजकीय भ्रमण
चिनियाँ राष्ट्रपति शीबाट हुन लागेको नेपालको राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने र चिनियाँ प्रतिनिधिमण्डलको स्वागतका लागि भोज (ब्याङ्क्वेट)को आयोजना गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार भारत भ्रमणमा जान लागेका शी शनिवार दिउँसो नेपाल आउने कार्यक्रम छ ।
राष्ट्रपति शीको भ्रमणको पूरै तालिका सार्वजनिक नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता हुने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति शीले केही सहयोगको घोषणा समेत गर्ने तयारी रहेको नेकपानिकट स्रोत बताउँछ ।
राष्ट्रपति शीसँग नेपालका राजनीतिक दलका नेताहरूले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति शी आइतवार नै स्वदेश फर्किने कार्यक्रम छ ।