१७ असार २०८३, बुधबार

गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा कृषि संकलन केन्द्र निर्माण

कात्तिक २०, २०७४
गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा कृषि संकलन केन्द्र निर्माण

गोरखा, २१ चैत– ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत रु १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो ।

केयर नेपालका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत लेखनाथ अधिकारीले कृषि उपज सङ्कलन गरी केन्द्रमा भण्डारण गर्ने र बजारीकरण गर्न सहज भएपछि यहाँका किसान खुसी भएको बताए । भूकम्पपछि भूकम्पपीडितको जीविकोपार्जनमा सुधार ल्याउन तरकारीका बीउ वितरण गर्नेदेखि बेमौसमी तरकारी खेतीका लागि टनेललगायत सहयोग गरिएको केयरले जनाएको छ ।

यस्तै केयरले स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वयमा धार्चे गाउँपालिका–५ गुम्दामा आलुको बीउ भण्डारण गर्ने रस्टिक स्टोर भवन पुनर्निर्माण गरेको छ । जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी निर्माण गरिएको भवनमा आलुको बीउ भण्डारण गर्ने बताइएको छ । १२ लाख ७८ हजार २ सय ७१ रुपैयाँको लगानीमा भवन पुनःर्निर्माण गरिएको केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले जानकारी दिए ।

आलु उत्पादनको पकेट क्षेत्रमा गुम्दा पर्छ । गुम्दामा वर्षेनि आलु उत्पादन भए पनि बर्खाका बेला पहिरोले कच्ची सडक अवरुद्ध गर्दा बजारीकरणमा समस्या हुँदै आएको आलु उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण माइला गुरुङले बताए । ‘गुम्दाका हरेक घरमा दुई सय मुरी आलु उत्पादन हुन्छ,’ उनले भने, ‘यहाँको मुख्य बाली नै आलु हो । उत्पादन भएको आलु बजारसम्म झार्न सकिएको छैन ।’

रस्टिक स्टोर सञ्चालनमा आएपछि आलुको बीउ भण्डारणमा सहज हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । गुम्दामा चार सय रोपनी क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । स्थानीय शिक्षक सुनिल गुरुङले बीउ, आलु र तरकारी खाने आलु भण्डारण गर्ने बेग्लाबेग्लै भवन आवश्यक परेको बताए । रस्टिक स्टोरमा भण्डारण गरेको बीउ आलु बेचेर किसानले फाइदा लिन सक्ने उनको भनाइ छ ।

केयरले गुम्दामा अलैँची खेती विस्तारका लागि ३० हजार अलैँचीका बिरुवा वितरण गरेको छ । यस्तै अलैँची सिँचाइका लागि रु छ लाख बजेट विनियोजन गरी पाइपमार्फत पानी ल्याएर अलैँची सिँचाइ गरिने बताइएको छ । स्वाँरा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले आलु बेचेरै गुम्दाका किसानले जीविकोपार्जनमा सुधार ल्याउनसक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्