काठमाडौं, २१ चैत – गत मंसिरमा माइक्रोबस दुर्घटनामा परेका राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी थलिएका छन् । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उनी पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ७६ वर्षीय केसी संसद्को बैठकमा समेत नियमित उपस्थित हुन सकेका छैनन् ।

मंसिरमा दुर्घटनामा परेपछि पुसमा आएर समस्या बल्झिएको केसीले बताए । ‘माइक्रोबाट खसेको केही दिनमा दुखाइ अलि कम भएको थियो, पुसदेखि फेरि बल्झियो,’ केसीले लोकान्तरसँग भने, ‘काठमाडौंका पाँचवटा अस्पतालमा जँचाए, व्यथा २० को १९ भएको छैन ।’
दुर्घटनामा परेलगत्तै काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार गराएका केसीले ग्राण्डी, गंगालाल, सिभिल अस्पतालमा उपचार गराएपनि अहिलेसम्म निको हुन नसकेको बताए ।
अस्वस्थताका कारण आजकल संसद्को बैठक र सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन नसकेको केसीले बताए । ‘गाडीबाट थेचारिएपछि एकदुईवटा कार्यक्रममा भाग लिए, अहिले पार्टीको मिटिङमा पनि जानसकेको छैन,’ केसीले भने ।
राष्ट्रिय राजनीतिको विषयमा घरमै बसेर अपडेट लिइरहेको केसीले बताए । ‘संविधान संशोधनविरुद्ध सक्रिय हुनुपर्ने समयमा घरमै बस्नुपर्दा झन् सकस भएको छ,’ केसीले भने, ‘अहिले सीमाङ्कन थाती राखेर संशोधन गर्ने कुरा चलिरहेको छ, संशोधन ठीक छैन भनिरहेका छौं, सीमांकन छाड्ने कुरा पनि हाम्रो जीत हो ।’
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण स्थानीय निर्वाचनको तयारीमा जुट्न नपाएको उनले बताए । उनी थलिएसँगै वैशाख ३१ का लागि तय भएको स्थानीय निकायको निर्वाचनमा समेत उनको दल राष्ट्रिय जनमोर्चालाई असर पर्ने देखिएको छ ।
बागलुङ, प्यूठान, अर्घाखाँची लगायतका जिल्लामा राम्रै प्रभाव रहेको जनमोर्चालाई केसीको स्वास्थ्यमा आएको समस्याले धक्का लाग्ने स्थानीय राजनीतिक दलको अनुमान छ । केसीलाई संघीयताविरोधी र स्वच्छ छविसहितका सादा नेताको रूपमा लिने गरिएको छ ।
गएको मंसिर ८ गते पार्टी कार्यालय कपनमा जानेक्रममा अध्यक्ष केसी काठमाडौंको चावहिल चोकभन्दा केही तल सडक दुर्घटनामा परेका थिए । केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री रहेका केसीले मन्त्रीपदवाट हटेपछि सार्वजनिक यातायातको प्रयोग गर्ने गरेका थिए ।