
लोकान्तर संवाददाता
काठमाडौं, १३ मंसिर –युरोप र भारतका विभिन्न स्थानमा एभियन फ्लूको संक्रमण देखिएको छ । उच्च गतिमा रोगको संक्रमण फैलाउन सक्ने फ्लूको संक्रमण केही दिनअघिमात्रै नेदरल्याण्डका कुखुरा फर्म, फिनल्याण्डका पंक्षी र दक्षिणी भारतका राज्यमा देखिएका हुन् ।

नेदरल्याण्डमा शनिवारमात्रै झण्डै २ लाख हाँस नष्ट गरिए
एभियन फ्लूको संक्रमण देखिएपछि गत शनिवारमात्रै नेदरल्याण्डमा १ लाख ९० हजार हाँस नष्ट गरिएको छ । उत्तरी युरोपमा रोगका कारण नष्ट गरिएका पंक्षीको यो संख्या हालसम्मकै ठूलो हो ।
विगत केही सातायतामात्रै यो संक्रमण डेनमार्क, फिनल्याण्ड र स्विडेनमासमेत फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एभियन फ्लूको संक्रमण देखिएपछि रोगको संक्रमण थप बढ्ने भन्दै युरोपका ती मुलुकमा पंक्षीको ओसारपोसारमै रोक लगाइएको छ ।
विश्वकै सबैभन्दा ठूलो कृषि उपज निर्यातक मुलुक नेदरल्याण्डमा १० करोड भन्दा बढी कुखुरा, बंगुर, गाई तथा भेडा फार्म छन् । जनावरको उच्च जनघनत्वका कारण संक्रमण अरू बढेको जनाइएको छ ।
नेदरल्याण्डमामात्रै स्वाइन फ्लू, फूट एण्ड माउथ र म्याड काउ रोगका कारण सन् १९९७ यता ४ करोडभन्दा बढी कुखुरा, गाई, बाख्रा, बंगुर र भेडा नष्ट गरिएको जनाइएको छ ।
भारतको कर्नाटकमा पनि भेटियो
त्यस्तै, भारतको कर्नाटक राज्यमा पनि एभियन फ्लूको संक्रमण भेटिएको त्यहाँको कृषि मन्त्रालयलाई उदृध गर्दै वल्र्ड अर्गनाइजेसन अफ एनिमल हेल्थ जनाएको छ ।
-रोयटर्सको सहयोगमा