
बुटवल– प्रदेश नम्बर ५ लाई सडकमानवमुक्त बनाउने अभियान शुरू भएको छ । अब प्रदेशका कुनैपनि धार्मिकस्थलदेखि सडक पेटीमा बसेर कसैले पनि भिख माग्न पाउने छैनन् ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित शिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो शिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा गरी प्रदेशलाई सडकमानवमुक्त बनाउने अभियानको शुरूवात गरे ।
‘घरबारबिहीन बेसाहारा, परित्यक्त, असहाय तथा जीवन जोखिममा रहेकाहरूलाई हामी तयार छौं’ भन्ने नाराका साथ अभियान शुरू गरिएको हो ।
प्रदेश नम्बर ५ का विभिन्न धार्मिक मठ मन्दिर, शहरका पार्टी पैवामा भिक्षा मागेर जीवन गुर्जाने धेरै मानिस छन् । प्रदेशमा सडक मानव कति छन् भन्ने यकिन तथ्यांक प्रदेश सरकारसँग छैन ।

सो अवसरमा बोल्दै मन्त्री बरालले मानवताका हिसाबले कुनैपनि नागरिकले भिक्षा माग्नु कलंक भएको बताए । ‘बाध्यताका आधारमा सडक र मन्दिरमा बसेर माग्नेलाईलाई हामी आश्रममा राख्छौं,’ मन्त्री बरालले भने, ‘प्रदेश सरकारको संकल्प छ, हामी सडकमा बसेर माग्न दिने छैनौं । काम गर्न सक्नेलाई काम गर्ने वातावरण मिलाउँछौ । बिरामीलाई उपचार गर्छौं । व्यवस्थित आश्रममा राख्छौं ।’
पहिलो चरणमा मठ मन्दिरमा बसेर भिक्षा माग्नेलाई हटाउने प्रदेश सरकारको योजना छ । सोमवार शिद्धबाबामा मन्दिरमा भिक्षा मागेर खाने १८ जना सन्त महन्तलाई बुटवलस्थित मानव सेवा आश्रममा लगिएर राखिएको छ ।

प्रदेश सरकारले गत वर्षदेखि नै शुरू गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो । प्रदेशले सडकमानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सडक मानवलाई राख्ने व्यवस्था गर्ने जिम्मा मानव सेवा आश्रमले लिएको छ । त्यस्तै सरकारले अनाथ र जेष्ठ नागरिकका लागि रूपन्देहीकै सैनामैना नगरपालिकामा जेष्ठ नागरिक केन्द्र निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ।
शिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले भिक्षा दिने र भिक्षा माग्नेलाई सबैलाई निरुसाहित गर्न लाग्नुपर्ने बताए ।

उनले भिक्षा माग्नेहरू कोही धर्मप्रति निष्ठावान रहेपनि केही मदिरा र लागू पद्धार्थ खाने पनि रहने गरेको जानकारी दिए ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रममा बेसहारालाई राख्न कुनै आनाकानी र हिचकिचावट नहुने बताए ।
सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शारदा बस्यालले सरकारको अभियानमा सबैको साथ र सहकार्य आवश्यक भएको औंल्याइन् ।