.jpg?1491281348303)
चितवन २२ चैत — स्थानीय तहको अब हुने निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट अधिकांश युवा नेताहरु आकांक्षी बनेका छन् ।
महानगरको मेयर पदमा नेपाली कांग्रेस भित्र नै कडा प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । मेयर पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौला निकटका युवा नेताहरु आकांक्षी बनेका हुन् ।
मेयर पदमा कांग्रेसका केन्द्रीय युवा नेताहरु भरत सापकोटा, टेकप्रसाद गुरुङ, मिलनबाबु श्रेष्ठ, दिनेश कोइराला, भरत गुरुङ, शंकर कँडेल र विजय भुषाल आकांक्षी देखिएका छन् ।
सापकोटा दिवंगत पूर्व सभापति गिरिजाप्रसाद कोइरालानिकट रहेर काम गरेका युवा नेता हुन् ।

उनले मेयर पदमा चुनाव लड्न साथीभाईहरुले आफूलाई आग्रह गरिरहेको बताउँदै आएका छन् । यद्यपी आफूलाई पार्टीले टिकट नदिएमा मेयर पदका लागि पार्टीले जसलाई टिकट दिन्छ उसैलाई सहयोग गर्ने उनले बताए ।
नेपाली कांग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङले पनि मेयर पदमा दाबी गरिरहेका छन् । गुरुङलाई सिटौला निकटको नेता भनेर चिनिन्छ ।
त्यस्तै अर्का आकांक्षी मिलनबाबु श्रेष्ठलाई भने सभापति देउवा निकटको नेता भनेर चिनिन्छ । भरतपुर नगर सभापतिमा यसअघि चुनाव हारेका श्रेष्ठ कांग्रेसबाट समानुपातिक सभासद् भएकी अञ्जनी श्रेष्ठको श्रीमान् हुन् ।
त्यस्तै कांग्रेसका अर्का युवा नेता भरत गुरुङपनि मेयर पदमा चुनाव लड्ने तयारीमा छन् । पार्टी सभापति देउवा निकट भनेर चिनिएका गुरुङ कांग्रेसको महासमिति सदस्य हुन् । गुरुङ २०४८ सालमा अमृत साइन्स क्याम्पस नेविसंघको अध्यक्ष भईसकेका नेता हुन् ।
मेयरका लागि अर्का आकांक्षीमा विजय भुषालको नाम पनि आएको छ । जग्गाको कारोबार गर्दै आएका भुषाल पार्टी राजनीतिमा त्यति धेरै चर्चित छैनन् । चितवनमा जग्गाको कारोबार बढ्दै गर्दा उनी पार्टी राजनीतिलाई कम महत्व दिएर जग्गाको काममा लागेका थिए ।
भुषाल अहिले टिकट पाउन रामचन्द्र पौडेल निकट भएर लागेका छन् ।
त्यस्तै युवा नेताहरु शंकर कंडेल र दिनेश कोइरालाले पनि मेयर पदमा आकांक्षा देखाएका छन् । कंडेल कांग्रेस जिल्ला कोषाध्यक्ष हुन् । कंडेललाई चितवनका पार्टी सभापति जितनारायण श्रेष्ठले साथ दिएका छन् भने कोइरालालाई सिटौलाको साथ रहेको छ ।
भरतपुर महानगरभित्र २९ वटा वडाहरु छन् । भरतपुर महानगरमा कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निकाय पुनर्संरचना आयोगले साविकको भरतपुर उपमहानगरपालिकालाई महानगर बनाएको हो । भरतपुर महानगरमा करिब एक लाख ५२ हजार मतदाताहरु रहेका छन् ।