
टेलिशृंखला ‘भद्रगोल’ का ‘पाँडे’ हास्य अभिनयका चर्चित पात्र हुन्, अर्जुन घिमिरे । फटाहा प्रवृत्तिको गाउँले बुढाको भूमिकामा पाँडेको अभिनय खुब रुचाइएको छ । उनै पाँडेको सक्कली नाम हो, अर्जुन घिमिरे । नुवाकोटका घिमिरेले आफ्नो अभिनय चरित्र ‘पाँडे’बारे केही रहस्य खोलेका छन्स्
०७० अघि म ‘सिस्नुपानी’ सिरियलमा काम गर्थें । त्यतिवेला कुमार कट्टेल ‘जिग्री’ ‘मेरी बास्सै’मा अभिनय गर्थे । जिग्रीले मेरी बास्सै छाडेपछि हाम्रो भेटघाट बाक्लिन थाल्यो र नयाँ हास्य टेलिसिरियल ल्याउनेबारे कुरा चल्न थाल्यो । लामो छलफलपछि ‘भद्रगोल’ ल्याउने निर्णयमा पुग्यौँ । ०७० मा भद्रग्रोल ल्याइयो ।
भद्रगोल ल्याउने निश्चित भएपछि पात्रबारे छलफल भयो । पात्र कस्ता चयन गर्दा दर्शकले रुचाउँछन् भन्ने सोच्न थालियो । एउटा बुढो–बुढो, कतै पनि नमिल्ने फटाहा प्रकृतिको पात्र राख्ने निर्णय भयो । त्यो चरित्रमा मैले अभिनय गर्ने पनि फैसला भयो । तर, नाम के राख्ने भन्ने निर्णयमा पुग्न समय लाग्यो । सुरुमा ‘भँडारी बा’ राख्ने सल्लाह भयो । भण्डारीलाई गाउँघरमा चलनचल्तीको भाषामा भँडारी भन्ने गरिएको र त्यसैलाई जोडेर ‘भँडारी बा’ राख्ने भन्ने भयो । छलफल चल्दै गर्दा यता पनि नमिल्ने उता पनि नमिल्ने अर्थात् आलुपाँडे चरित्रमा त ‘पाँडे’ नै नाम राखौँ कि भन्ने कुमारजीको तर्क उठ्यो । अनि अन्ततः पाँडे नै राखियो ।
पाँडे बन्ने त भइयो, तर कसरी अभिनय गर्ने रु यो कुराले मलाई हैरान पार्यो । गेटअपदेखि, हाउभाउ र बोली सबै बदल्नुपर्ने भयो । मैले ‘रिहर्सल’ थालेँ । पाँडेको स्वर निकाल्नै सुरुमा निकै अप्ठ्यारो भयो । सिक्दासिक्दा केही दिन त घाँटी दुखेर तनाव भयो । पछि बानी पर्दै गयो र पाँडे चरित्रमा डुबेपछि पर्दाका लागि तयार भएँ । त्यतिखेर जुँगा पनि पालेको थिइनँ, नक्कली नै राख्नुपथ्र्यो, कुप्रो बन्नुपथ्र्यो । यी सबै १०–१२ पाटातिर विचार पुर्याएर अभिनय गर्न मुस्किल पर्यो । कहिले जुँगा उप्किने, कहिले कुप्रिएको नमिल्नेजस्ता समस्या सुरु–सुरुमा हुन्थ्यो । मैले जे होस् भनेर हावाकै भरमा पाँडेको अभिनय गर्दै गएँ । यो अभिनयमा स्थापित हूँला भन्ने लागेकै थिएन । तर, धेरै दर्शकले रुचाइदिनुभयो । दर्शकको माया पाउन थालेपछि भने आफूले निर्वाह गरेको चरित्रमा डुबेर अभिनय गर्न थालेँ ।
अभिनयको सुरुवाती दिनमा लगाउने कपडाको पनि समस्या भयो । पुराना कपडा लगाउनुपर्ने, तर कहाँबाट ल्याउने भन्ने भयो । अन्ततः सुटिङस्पट नजिकैका एकजना दाइको दौरासुरुवाल मागेर लगाएँ । केही शृंखला त्यसरी चलेपछि स्थायी रूपमै कपडाको जोहो गरियो । दौरा सुरुवाल त नयाँ नै सिलाएँ, तर कोट त पुरानो–पुरानो देखिने चाहिन्थ्यो ।
टिममा सल्लाह गर्दा सहकर्मी कलाकार कमलमणि नेपाल ‘खुपीका बाउ’को काकाको कोट ल्याउने कुरा भयो । मोरङबाट त्यो कोट मगाएर लगाउन थालेँ । अहिलेसम्म पनि त्यही जडौरी कोट लगाएर अभिनय गरिरहेको छु । पहिले चप्पल नलगाई अभिनय गर्थें । तर, पछि चप्पलचाहिँ लगाउन थालेँ ।
‘भद्रगोल’को पाँडे भनेर होस् या अर्जुन घिमिरे पाँडे भनेर होस्, धेरै दर्शकले मलाई चिन्नुभएको छ । तर, पाँडेको अभिनयमा चिन्ने दर्ककले अर्जुन घिमिरेको रियल गेटअपमा हिँड्दा कमैले ठम्याउँछन् । चिनिसकेपछि पनि झुक्किन्छन् । यस्तो भर्खरको केटोले कहाँ त्यस्तो बुढोको अभिनय गर्न सक्नुभयो भन्ने जिज्ञासा राख्छन् ।
त्यसो त समाजमा मिल्न नसक्ने र भाँडभैलो मच्चाउन उद्यत हुने पात्र भनेर पाँडेप्रति असन्तुष्टि जनाउनेहरू पनि भेटेको छु । समग्रमा पाँडे पात्र बनेर जसरी मेरो परिचय स्थापित भएको छ, मैले त्यो चरित्रमार्फत दर्शकलाई अझ बढी मनोरञ्जन दिलाउने प्रयत्न गरिरहेको छु । नयाँ पत्रिका दैनिकमा खबर छ ।