
राँझा – चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ ।
दशैं अवधिमा रक्त संकलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
सामान्य अवस्थामा ३ सय पिन्टभन्दा माथि नै रगत मौज्दात रहने भएपनि अहिले त्यो भन्दा कमी भएकाले रक्तदातालाई आह्वान गरेको उनले जानकारी दिए ।
‘२ दिनयता रक्तदानका कार्यक्रम शुरू भएका छन्, अब मौज्दात बढ्दै गएको छ,’ प्रमुख रेग्मीले भने, ‘रगतको अभाव हुन नदिन रक्तदातालाई अनुरोध गरेअनुसार संकलन हुन थालेको छ ।’
बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको संख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए । साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।
सबभन्दा धेरै भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको उनले बताए । नेपालगञ्जमा ठूला–साना गरी करीब २४ अस्पताल सञ्चालनमा छन् । रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै संकलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरुको ध्यान हुने गरेको प्रमुख रेग्मीको भनाइ छ ।
अभाव हुन नदिन धमाधम रक्तदान
नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगत अभाव भएसँगै बाँकेमा सामाजिक संस्थाहरूले रक्तदान कार्यक्रम शुरू गरेका छन् ।
लायन्स क्लब, नेपाल जेसिज, सहकारी संस्थाले रक्तदान आयोजना गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । आज मात्रै लायन्स क्लब अफ नेपालगञ्ज क्रिएटिभ, नेपालगञ्ज जुनियर जेसिज, भेरी वित्तीय सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए ।