
काठमाडौं – चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर/जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ ।
विक्रम संवत् २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका घर जग्गाको चारकिल्ला छुट्याइ सम्बन्धित जग्गा धनीलाई नगरपालिकाको पहलमा धनीपूर्जा वितरण गरिएको हो ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, नापी कार्यालयका प्रमुख सुरेश जोशी, वडा अध्यक्ष प्रकाश श्रेष्ठलगायतले नगरवासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा हस्तान्तरण गरे । सो अवसरमा नगरप्रमुख गिरीले नगरवासीको चाहनालाई सम्बोधन गर्ने गरी कामकारबाही अगाडि बढाइरहेको बताए ।
वडाध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनका क्रममा घोषणापत्रमा उल्लेख गरिएअनुसार नै पूर्जा उपलब्ध गराइएको बताए ।
नगरक्षेत्र भित्र रहेका अन्य घर/जग्गाविहीन नगरवासीलाई पनि धनी प्रमाण पूर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । जग्गाधनी प्रमाणपूर्जा विहीन नगरवासीलाई पूर्जा उपलब्ध गराउन नगरपालिकाले पहल गर्दै आएको थियो ।
कार्यक्रममा ८० वर्ष नाघेको ७५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै १२ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।