
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शहरहरूलाई धूलोधूवाँमुक्त बनाउने बताएका छन् ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर– १ टोटेपाखामा सोमवार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धूलोधूवाँ नभएको शहर बनाउने बताएका हुन् ।
देशलाई खुला दिसामुक्त घोषणा गरेको प्रसंगमा प्रधानमन्त्री ओलीले भने– 'हामीले खुला दिसामुक्त देश बनाएका छौं, सुन्दा सामान्य कुरा, तर असाधारण कुरा हो किनभने सिँगै देश सभ्यताको स्तरमा उठ्यो ।'
मुलुक सभ्यताको स्तरमा माथि उठिसकेकाले अब धूलोधूवाँमुक्त शहर बनाउने उनको प्रतिबद्धता छ ।
'अब धूलोधूवाँ नभएको शहर, सफा शहर । हाम्रा निम्ति, पाहुनाका निम्त,' प्रधानमन्त्री ओलीले भने, 'हामीले धूलो खानैपर्छ भन्ने के छ ? हामीले धूलोमा बस्नैपर्ने के छ ?'
प्रदूषण कम गर्नका लागि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनबाट बिस्तारै इलेक्ट्रिक सवारीसाधनतर्फ अघि बढेको उनको भनाइ छ ।
'पेट्रोलियमबाट चल्ने सवारीका ठाउँमा हामी बिस्तारै इलेक्ट्रिक सवारीतर्फ अघि बढेका छौं । ३ सय इलेक्ट्रिक बसका लागि पैसा छुट्याइसकिएको छ । अस्ति नै आउनुपर्ने अलि विलम्ब भएको छ । किन आएन भनेर हामीले अध्ययन गरिरहेका छौं,' उनले भने ।
प्रधानमन्त्री ओलीले सडक मार्गका लागि सुरुङ आयोजना अघि बढेको भन्दै नेपाल नयाँ युगमा प्रवेश गरेको जिकर पनि गरे ।
यसका अलावा टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेसी लगायतका सुरुङमार्ग अध्ययनको चरणमा रहेको उनको भनाइ छ ।
नागढुंगा सुरुङमार्ग आयोजना तोकिएको मिति ४२ महिनाभित्रै सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुईवर्ष अघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरू भएको थियो ।
यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
सुरुङमार्ग प्रवेश मार्गसहित ५.५६ किमीको हुनेछ ।