
काठमाडौं – रुसको रोस्तोभ भेलिकी शहरमा जम्मा ८५ पैसाका लागि विवाद हुँदा एकजना व्यक्तिले आगो लगाएर पाँच बालबालिका सहित सातजनाको हत्या गरेका छन् ।
सबै पीडितहरूलाई जीवितै अवस्थामा आगोमा डढाएर मारिएको थियो । काठले बनेको घरमा यो घटना गराइएको थियो ।
अलेक्जेन्डर कोमारोभका छोराले आफ्नो १२५ रुपैयाँ (७० रुबल) काठको घरमा बस्ने एक केटाले चोरेको दाबी गरेपछि कोमारोभले घरमा राति लाइटरबाट आगो लगाएका थिए ।
चोरीको आरोप लागेका बालकले त्यसलाई पूरै अस्वीकार गरे अनि आगोबाट बच्नका लागि उनी आफ्नो परिवार सहित झ्यालबाट भागे । उनीहरू तल्लो तल्लामा बस्थे ।
तर माथिल्लो तल्लामा बस्ने दुई परिवार भाग्न सकेनन् ।
आनास्तासिया कुर्किना र उनका तीन सन्तान मिलाना, एलिना र एभ्गेनिया सबै आगोमा डढेर मरे ।
अर्की महिला अनास्तासिया लेन्डिन्योभालाई त बचाइयो तर उनका दुई सन्तान पोलिना र सर्गेको मृत्यु भयो ।
कुर्किनाले पति इगोर भान्युशेभलाई हाम्फाल्न अनि बच्चाहरूलाई तल पुगेर समात्न भनेकी थिइन् ।
‘तर उनले होश गुमाइन् र उनी तथा उनका छोरीहरू सास थुनिएर मरे,’ सौतेनी छोरी ओल्गाले बताइन् ।
भान्युशेभका काका भ्लादिमिर उर्बाख पनि आगोमा डढेर बिते ।
तीन बालबालिका सहित कुल २५ जनालाई उक्त घरबाट बाहिर निकालियो ।
कोमारोभले अपराध सकारेका छन् । उनलाई हिरासतमा लिइएको छ र जन्मकैदको सजाय दिइने सम्भावना छ ।
एजेन्सी