खोटाङ, २३ चैत– धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो ।
मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए ।
उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा पक्की पुल तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा अस्थायी बेलीब्रीज सञ्चालनमा रहेकाले हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।
‘हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थी सिधै गाडी रिजर्भ गरेर आएका छन्,’ उनले भने, ‘दर्शनार्थीको बाक्लो भीड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयम्सेवक परिचालन गरिएको छ ।’
मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले जानकारी दिए । ‘हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ,’ प्रजिल पोखरेलले भने, ‘मेलामा लाग्ने भीडभाडलाई सुरक्षाकर्मीले व्यवस्थित गरिरहेका छन् ।’
धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए ।
यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बराहापोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरलगायतमा समेत ठूलो मेला लागेको छ । हलेसीबाहेक अन्य ठाउँमा एकदिने मेला लाग्ने गरेको छ ।