
पर्सा – नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेसनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ ।
चितवनबाट आएका चिकित्सा शिक्षा सुधार संघर्ष समितिका पदाधिकारीसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
संघर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्द लगायतका विद्यार्थीमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा विद्यार्थीले वीरगञ्जमा प्रदर्शन गरेका छन् । चितवनबाट आएका विद्यार्थीसँगै नेसनल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले जुलुस निकालेर प्रदर्शन गरेका हुन् ।
नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर, विद्यार्थीमाथि हातपात गर्नेलाई कारवाही गर जस्ता नारा लगाउँदै कलेज परिसरबाट निकालिएको जुलुस वीरगञ्जको विभिन्न भाग परिक्रमा गर्दै वीरगञ्जको घण्टाघर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक चन्दले बढी लिएको शुल्क फिर्ता माग्दा कलेजका प्रबन्धक बरसुद्दीन अन्सारी लगायतका व्यक्तिले आफूहरूमाथि हातपात गरेको आरोप लगाए । उनले कलेजले चिकित्सा शिक्षा संकायमा अध्ययनरत प्रतिविद्यार्थीबाट ५५ लाखदेखि ६२ लाख रुपैयाँसम्म शुल्क लिएको प्रमाण आफूहरूसँग रहेको दाबी गरे ।
सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिने नेसनल मेडिकल कलेजविरुद्ध आफूहरू ठगी मुद्दा हाल्ने संयोजक चन्दले जानकारी दिए । यसै विषयमा प्रबन्धक अन्सारीसँग बुझ्दा उनले बाहिरबाट आएका विद्यार्थीले कलेज बन्द गराउन खोज्दा तिनीहरूलाई नेसनल मेडिकल कलेजमै अध्ययनरत ‘सिनियर’ विद्यार्थीले कुटपिट गरेको बताए । ‘चिकित्सा शिक्षा संकायको शुल्कको विषय प्रतिनिधि सभामा छलफल भइरहेको र प्रतिनिधि सभाले जति शुल्क निर्धारण गर्छ, हामी त्यति नै लिन्छौं, बढी रकम फिर्ता हुन्छ,’ प्रबन्धक अन्सारीले भने ।