२१ असार २०८३, आइतबार

भरतपुरलाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिने

कात्तिक ८, २०७६
भरतपुरलाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिने

चितवन – भरतपुर महानगरपालिकालाई कात्तिक ९ गते शनिवार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ ।

मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी घोषणाको तयारी गरेको बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । 

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको छ । सो क्रममा बुधवारसम्म २५० जनालाई उद्धार गरिएको जानकारी दिइएको थियो । 

उनीहरूमध्ये जम्मा ८ जना मात्रै वास्तविक अभिभावकविहीन रहेको पाइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । अन्य मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते रहने गरेका छन् ।

२०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडक मानव मुक्त बनाउने अभियान शुरू गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरूमध्ये ३०० जनालाई पुनर्मिलन गराएको छ भने अहिले १ सय जना आश्रममा आश्रित रहेका छन् । आश्रमको क्षमता भने ५५ जनाको रहेको छ । 

महानगर प्रमुख रेनु दाहालले महानगरको क्षेत्र ठूलो भएकाले शहरदेखि गाउँसम्म यो अभियान सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा महानगरले आफ्नै केन्द्र स्थापना गरी व्यवस्थापन गर्ने बताए । हाल मानव सेवा आश्रममा त्यस्ता व्यक्तिहरूलाई राखिँदै आएको छ ।

मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला संघसंस्थाको अगुवाइमा ती क्षेत्रहरूलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बन्ने छ । 

विक्रम संवत् २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले काम थालेको हो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म ७ प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । भरतपुर महानगरपालिकामा आयोजना गरिने घोषणा कार्यक्रमअघि नारायणगढको क्याम्पाचौरबाट र्‍याली निकालेर महानगर कार्यालयमा आई घोषणा सभामा परिणत हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्