०३ असार २०८३, बुधबार

दुर्गम क्षेत्र मराङमा सडक पुग्यो

कात्तिक ८, २०७६
दुर्गम क्षेत्र मराङमा सडक पुग्यो
फाइल फोटो

म्याग्दी – भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ ।

सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि ३ घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीय श्रीप्रसाद गर्बुजाले बताए ।

‘दरवाङदेखि खच्चर र भरियामार्फत प्रतिकिलो १० ढुवानी भाडा लाग्दथ्यो,’ गर्बुजाले भने, ‘यातायातका साधन सञ्चालन हुन थालेपछि प्रतिकिलो २ रुपैयाँमा ढुवानी हुन थालेको छ ।’ दैनिक ४ बस र १० वटा जीप चल्ने बेनी–मराङ सडकमा प्रतियात्रु ४४० र दरवाङ–मराङलाई २२० रुपैयाँ भाडा तोकिएको छ । 

७ वर्षअघि मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङदेखि मराङ जोड्ने सडक निर्माण शुरू भएको थियो । मराङ खोलाको किनारै किनार बेंसी गाउँसम्म जोडिएको सडक अन्य बस्तीमा पनि विस्तार भएको छ ।

लुरवाङदेखि अर्गला बेंसी हुँदै मराङको कुम्रीस्थित स्वास्थ्य चौकीसम्म नौ किलोमिटर र बेँसीदेखि आरवाङ हँुदै मल्कवाङको कान्चेसम्म ८ किलोमिटर सडकको ट्रयाक खुलेको वडाध्यक्ष राजाराम सुवेदीले बताए । 

‘मराङ, मल्कवाङ, खिवाङ र रघुगङ्गा गाउँपालिकाको कुइनेका करीब तीन हजार घरधुरी लाभान्वित भएका छन्,’ उनले भने, ‘पहाडमा करीब १० मिटर ट्रयाक खोल्न बाँकी भएपनि २ ठाउँमा डाइभर्शन बनाएर सवारी सञ्चालन गरिएको हो ।’ तत्कालीन जिविस, बिम र मराङ गाविस, सांसद विकास कोष, धवलागिरि गाउँपालिका र पूर्वाधार विकास कार्यालय, प्रवासी, स्थानीयवासी, वन समूह, आमा समूह र व्यक्तिहरूको ६ करोड ४६ लाख ५१ हजार ५६० रुपैयाँ लगानी भएको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष अमर पुनले बताए ।

कान्चेभिर पुगेको सडकलाई विस्तार गरेर मल्कवाङ हँुदै पाखापानी र कुम्रीमा पुगेको सडकलाई ठूलोगाउँ, राम्चे, बुल, मलम्पार, मल्कवाङ जोडेर चक्रपथ बनाइने प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताए ।

पूर्वाधार विकास कार्यालयले अर्गाला–बँंसी खण्डका भिरमा बाँकी ट्र्याक खोल्न र मल्कवाङमा जोड्न यस वर्ष डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । कुम्रीदेखि ठूलोगाउँ, राम्चे, बुल मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले २५ लाख रुपैयाँ छुट्याएको अध्यक्ष थमसरा पुनले बताए ।

‘प्रदेश सरकारमार्फत अर्गलास्थित मराङ खोलामा मोटरेबल पुल निर्माण हुन लागेको छ,’ अध्यक्ष पुनले भने, ‘अर्गाला र बेंसीको बीचमा रहेको भीरमा यस वर्ष ट्रयाक खुलेर नियमित गाडी चल्ने बनाउँछौं ।’ ७ वटा वडा रहेको धवलागिरि गाउँपालिकाको मराङ, ताकम र मुनामा मात्र सडक पुगेको छ ।

यस वर्ष लुलाङ, मुदी र मल्कवाङमा सडक पुर्‍याउने लक्ष्य छ । गुर्जामा आन्तरिक सडक निर्माण गरेर यातायात सञ्चालन गर्न लागिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्