०९ साउन २०८३, शनिबार

२८ जना माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको पनि छानबिन हुने

आलोपालो सहमतिका बारेमा आफूलाई थाहा नभएको पोखरेलको दाबी
कात्तिक ८, २०७६
२८ जना माओवादी कार्यकर्ता मारिएको गौर हत्याकाण्डको पनि छानबिन हुने
फाइल फोटो

विराटनगर -रक्षामन्त्री ईश्वर पोखरेलले विगतमा भएका जुनसुकै अपराधहरू पनि तथ्यसहित अगाडि आए छानबिन हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रवार बिहान सञ्चारकर्मीहरूसँग बोल्दै पोखरेलले रौतहटको 'गौर हत्याकाण्ड' पनि छानबिन हुन सक्ने बताए ।

'विगतमा भएका जुनसुकै अपराधका घटनाहरू पनि तथ्यसहित आए भने सरकारले छानबिन गर्छ,' पोखरेलले भने, 'गौर हत्याकाण्डको पनि छानबिन हुन्छ ।'

२०६३ सालको चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन मधेशी जनाधिकार फोरम र तात्कालीन माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो ।

उक्त झडपमा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो भने कैयौं घाईते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिन्छ ।

पोखरेलले दुई अध्यक्षले आलोपालो प्रधानमन्त्री हुने सहमति नगरेको दाबी समेत गरे ।

'दुई अध्यक्षबीच सहमति भएर नै पार्टी चलेको छ,' पोखरेलले भने, 'आलोपालो प्रधानमन्त्री बन्ने विषयमा भएको भनिएको सहमति संस्थागत रूपमा हामीलाई थाहा छैन ।'

पार्टी एकताताका दुई अध्यक्षले गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने विषयलाई लिएर पछिल्लो समयमा पार्टीभित्र विवाद सिर्जना भएको छ । विवादका बीचमा रक्षामन्त्री पोखरेलले सहमतिका बारेमा आफूलाई औपचारिक रूपमा कुनै जानकारी नभएको भनी वक्तव्य दिनुलाई अर्थपूर्ण हिसाबले लिन सकिन्छ ।

पार्टीको स्कूल विभाग प्रमुखसमेत रहेका पोखरेल अध्यक्ष प्रचण्डप्रति अनुदार मानिने नेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्