
काठमाडौं – चिकित्सा शिक्षा संघर्ष समिति चितवन मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयले विद्यार्थी आन्दोलनमाथि भएको धरपकडको विरोध गरेका छन् ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द र काठमाडौं विश्वविद्यालयका नरेश भट्टले विज्ञप्ति जारी गर्दै कुटपिटको विरोध गरेका हुन् ।
विद्यार्थी कुटपिटपछि काठमाडौं आएर पत्रकार सम्मेलन गर्दै जारी विज्ञप्ति अनुसार कात्तिक ७ गते नेशनल मेडिकल कलेज वीरगञ्जमा विद्यार्थीले गरेको शान्तिपूर्ण संघर्षमा कलेजका सञ्चालक बसरुद्दीन अन्सारीको नेतृत्वमा धरकपड भएको थियो ।
रातिको समयमा प्रदर्शनमा सहभागी विद्यार्थीमाथि स्थानीय गुण्डा र विद्यार्थीले कुटपिट गरेको संघर्ष समितिद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयले तोकेको शुल्कभन्दा बढी शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीले आन्दोलन गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले कलेजमा अध्ययनरत विद्यार्थीको मानवअधिकार सुनिश्चित गरी जनधनको रक्षा गर्न सरकार र मानव अधिकारकर्मीलाई विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।