२३ जेठ २०८३, शनिबार

अखाद्य वस्तु नष्ट, उपभोक्ता ठग्ने सामग्री जफत

कात्तिक ८, २०७६
अखाद्य वस्तु नष्ट, उपभोक्ता ठग्ने सामग्री जफत
फाइल फोटो

काठमाडौँ - भक्तपुर नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ ।

म्याद गुजे्रका त्यस्ता अखाद्य वस्तुलगायत विभिन्न सामग्री जफत गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको सल्लाघारीमा भएको अनुगमनमा पटकपटक निर्देशन दिँदा पनि दर्ता नगर्ने सल्लाघारी पराठा हाउसमा माइक्रोओभन एक थान जफत गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यस्तै नेहाल जुस फलफूल पसलमा म्याद गुज्रेका विभिन्न ब्राण्डका पापड र फ्रुट नष्ट गरेको छ । त्यस्तै शिव मिष्ठान भण्डारमा बढी रङ हालेर बनाएको रातो पुरी नष्ट गर्नुका साथै सरसफाइमा ध्यान दिन निर्देशन दिएको उनले जानकारी दिए ।

सल्लाघारीको किरान पसलमा म्याद गुज्रेको विभिन्न ब्राण्डका जम्बो जुस नष्ट गरेको छ भने इन्द्र कोल्ड स्टोरमा म्याद गुज्रेका विभिन्न ब्राण्डका बिस्कुट, जुसलगायतका सामग्री जफत गरी नष्ट गरेको छ ।

खुशी फुड महलमा खाद्य रङ बढी भएको पकौडा नष्ट गर्नुका साथै बिग्रेको मासु फ्रिजमा नराखी छुट्टै राख्न निर्देशन दिएको छ । त्यस्तै सल्लाघारी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले तत्काल दर्ता गर्न निर्देशन दिएको छ ।

यता दर्ता र स्वीकृति नलिई साख मल्टी स्टोर्स र एसआर स्टोरले मदिरा बिक्री गरेको, किराना पसल दर्ता गरी मिनी मार्ट सञ्चालन गरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र बिना बिक्री गरेको, सफारी हेल्थ सनफ्लोर तेलमा उल्पादन मिति प्रष्ट नभएको र ढक तराजुसमेत नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले तत्काल नियमानुसार गर्न निर्देशन दिएको र तिहारपछि पनि नियममा नगए कारवाही गर्ने चेतावनी दिएको छ ।

त्यसैगरी दर्ता नगरी सञ्चालन भएको गौरी शङ्कर मःमः पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिँदै ग्यास चुलो जफत गरेको, फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा राखेको पाइएका आगामी दिनमा पनि त्यस्तै गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ ।

ड्रिमल्याण्ड किचेनमा कामदारले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोग नगरेको, फोहर रहेको पाइएको छ भने मधुबन स्विट्स पसल तीन दिनभित्र दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ । यता रामदेवी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले धेरै पसललाई दर्ता गर्न निर्देशन दिएको उहाँले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्