काठमाडौं –तोकिएभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई पैसा फिर्ता गर्न सरकारले दिएको समयसीमा सकिएको छ ।
एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको बैठकले ७ कात्तिकभित्र कलेजले शुल्क फिर्ता गरिसक्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै पनि मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।
पछिल्लो तीन वर्षमा मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्ब ठगी गरेका छन् । गण्डकी मेडिकल कलेजले ४३ करोड पाँच लाख, नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, लुम्बिनी मेडिकल कलेजले ३२ करोड ९६ लाख, युनिभर्सल मेडिकल कलेजले ३२ करोड ७२ लाख, नेसनल मेडिकल कलेजले ३२ करोड ३५ लाख, काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, विराट मेडिकल कलेजले १९ करोड नौ लाख, कलेज अफ मेडिकल साइन्सेसले १० करोड ६१ लाख, मणिपाल मेडिकल कलेजले १० करोड नौ लाख, किस्ट मेडिकल कलेजले पाँच करोड ९९ लाख, देवदह मेडिकल कलेजले ९० लाख अतिरिक्त शुल्क उठाएको सरकारकै छानबिनबाट देखिएको छ । सतर्कता केन्द्रको नेतृत्वमा गठन गरिएको समितिले प्रतिवेदन नै तयार गरिसकेको छ ।
सरकारले काठमाडौं उपत्यकामा एमबिबिएसका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । ट्युसन, ल्याब, लाइब्रेरीलगायत सबै शुल्क यसैभित्र समावेश छ । तर, कलेजहरूले विभिन्न शीर्षकमा विद्यार्थीलाई फेल गरिदिने, परीक्षा लेख्न नदिनेजस्ता डरधम्की दिएर १० देखि १८ लाखसम्म बढी रकम असुल्ने गरेका छन् । शुल्क फिर्ता नभए सबै मेडिकल कलेजमा आन्दोलन गरिने संघर्ष समितिका प्रवक्ता नरेश भट्टले बताए । ‘अहिले त्रिविअन्तर्गतका मेडिकल कलेजमा मात्रै आन्दोलन भएको छ । सबै कलेजले बढी शुल्क लिएका छन् । हामी फिर्ता गराउन देशैभरका मेडिकल कलेजमा पुग्नेछौँ,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।