०५ साउन २०८३, मंगलबार

‘महाउज्जवल राष्ट्रदीप विभूषण’ शेख इद्रिशको राजनीतिक विरासत ढल्दै

कात्तिक ९, २०७६
‘महाउज्जवल राष्ट्रदीप विभूषण’ शेख इद्रिशको राजनीतिक विरासत ढल्दै

जनकपुरधाम – २०७२ सालको गणतन्त्र दिवसको अवसरमा गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा रौतहटको राजपुर नगरपालिकाका शेख इद्रिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मरणोप्रान्त ‘महाउज्जवल राष्ट्रदीप विभूषण’ले विभूषित गरेका थिए । इद्रिसलाई देशकै राष्ट्रपतिले दिएको उक्त उच्च सम्मान इद्रिशका भतिजा आफ्ताब आलमले ग्रहण गरेका थिए ।

आलम त्यही व्यक्ति हुन् जसले इद्रिशको राजनीतिक विरासत पाएका हुन् । शेख इद्रिश त्यो नाउँ हो जसलाई रौतहटमा मात्र सम्मानका साथनाम लिने गरिएको छैन, पुरै तराईमा नै उनलाई उच्च सम्मानका साथहेर्ने गरिन्छ । देशमा लोकतन्त्र प्राप्तिको लागि उनले गरेको योगदानका कारण उनको नाउँ देशैभरि लोकप्रिय भएको थियो ।

शेख इद्रिसको राजनीतिक यात्रा

नेपालको पहिलो आमनिर्वाचन २०१५ फागुन ७ गतेबाट शुरू भएर २०१६ वैशाख २१ गते साढे दुई महिनापछि सम्पन्न भयो । यसमा कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । उसले १०८ स्थानमा चुनाव लडेकोमा ७४ स्थानमा विजय हासिल गर्‍यो । उता ४७ स्थानमा लडेको नेकपाले चार स्थान मात्र जित्यो । ४६ स्थानमा लडेको प्रजापरिषद्ले तीन स्थानमा जित्यो । त्यसैगरी ८६ स्थान लडेको गोर्खा परिषद् १९ स्थानमा विजयी हुनु र २१ स्थानमा चुनाव लडेको तराई कांग्रेस २० स्थानमा जमानत नै जफत भई हार्नु पनि निर्वाचनको एउटा आश्चर्यमय पक्ष थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक महासभाले एउटै सिट जितेनन् । नेकपाले पपुलर भोट भने ल्याएको थियो । बहुमत ल्याउने कांग्रेसले ६ लाख ६६ हजार आठ सय ९८ मत प्राप्त गर्दा चार सिटमा खुम्चिएको नेकपाले एक लाख २९ हजार ४२ मत पाएको थियो । पाटनबाट तुलसीलाल अमात्य, पाल्पाबाट कमलराज रेग्मी र रौतहटबाट शेख फर्मान तथा शेख इद्रिशको जीतबाट नेकपाको नाक जोगिएको थियो ।

शेख इद्रिसका बुवा शेख लियाकत नै राजनीतिक पृष्ठभूमिका थिए । २००८ साल मंसिर १ गते मात्रिका प्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएपछि इद्रिशका बुवा लियाकतलाई मात्रिकाले प्रजा परिषदमा मनोनित गरेका थिए ।

त्यसपछि २०१५ सालमा इद्रिश आफैं पनि प्रजा परिषदको सदस्यमा चुनाव जितेका थिए । तर उनी पछि नेपाली कांग्रेसमा आबद्ध भए । इद्रिशको संगत बीपी कोइराला, सुवर्ण समशेर राणा, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, केसी प्रसाईं, महेन्द्रनारायण निधि, गिरिजा प्रसाद कोइराला, राम नारायण मिश्रसँग भएको थियो ।

राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था लादेपछि कांग्रेस आन्दोलित भयो । सोही आन्दोलनका क्रममा इद्रिशले पनि रौतहटबाट नेतृत्व लिएका थिए । उक्त आन्दोलनको क्रममा भारतमा निर्वासित जीवन बिताउँदै उनले रौतहटमा आन्दोलन चर्काइरहेका थिए । २०३६ सालको जनमत संग्रहमा कांग्रेस पराजित भएपछि कांग्रेस र लोकतन्त्रको पक्षमा माहौल बनाउन उनी लागिरहे । सोही क्रममा उनले २०३९ सालमा आफ्नै गाउँ राजपुरमा कांग्रेसको ७ दिने राष्ट्रिय सम्मलेन आयोजना गरेका थिए । उक्त सम्मेलनमा त्यो गाउँमा बीपी कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह, केसी प्रसाईं, कृष्ण प्रसाद भट्टराई समेत पुगेका थिए । सम्मेलन गरिएको इद्रिशको उक्त घर अहिले पनि यथावत नै छ । खपडाको उक्त घर अहिले जीर्ण भई सकेको छ । त्यसै घरमा इद्रिश प्रायः जसो बस्ने गर्थे ।

२०४६ सालको जन आन्दोलनमा समेत उनले ठूलो भूमिका निर्वाह गरेका थिए । २०४८ सालमा भएको आम निर्वाचनमा उनले रौतहटको संसदीय क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए । नेकपाका बिष्णु मानन्धरलाई इद्रिशले ठूलो मतान्तरले हराएको थियो । इद्रिशका भतिजा शेख फजले हकका अनुसार मान्धरले करीब १४ हजार मत ल्याएका थिए भने इद्रिशले २८ हजार मत प्राप्त गरेका थिए । २०४८ साल जेठ १५ गते गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा इद्रिशलाई कांग्रेसले मन्त्री बनाएको थियो । उनलाई त्यतिबेला  समाज कल्याण मन्त्री बनाइएको थियो । इद्रिशको लगाब कृष्ण प्रसाद भट्टराईसँग बढी थियो ।

फेरी २०५१ सालको निर्वाचनमा पनि उनले त्यही क्षेत्रबाट चुनाव जितेका थिए । उनले चुनाव जितेपछि २०५२ साल भदौ २७ गते नेपाली कांग्रेसकै शेर बहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा वन मन्त्री समेत भएका थिए । मन्त्री भएकै बेला उनको मुटुमा समस्या भएको थियो । २०५३ साल मंसिर १३ गतेका दिन उनको भारतको दिल्लीमा उपचारको क्रममा निधन भएको थियो ।

इद्रिसको विरासत आलमको काँधमा

इद्रिशको निधन पछि २०५४ सालमा भएको उपनिर्वाचनमा उनका भतिजा आफ्ताब आलमलाई नेपाली कांग्रेसले टिकट दिएको थियो । उक्त उप-निर्वाचनमा आलमले चुनाव जिते । आलमलाई चुनाव जितेको पहिलो पटकमैं वन तथा भूसंरक्षण राज्य मन्त्री बनाइएको थियो ।

उसो त इद्रिशले शुरूमा आलमलाई प्रोजेक्ट गर्न खोजेका थिएनन् । उनले अन्य भतिजाहरूलाई राजनीतिक कार्यक्रममा लग्ने, अन्य नेताहरूसँग घुलमिल गराउने काम गर्दै आएका थिए । तर आलम मात्र राजनीतिमा लागिरहे । त्यसैले इद्रिशको  राजनीतिक विरासत आलमले नै पाए । आलम, इद्रिशका भतिजा त छँदै थिए पछि उनको आफ्नै ज्वाईं समेत भए । इद्रिशले आफ्नो छोरीको बिहे आफ्नै भतिजा आलमसँग गरी दिएका कारण पनि उनले आफ्नो राजनीतिक विरासत आलमको काँधमा सुम्पेका थिए ।

आलमको घर

२०६४ सालमा भएको पहिलो संविधान सभाको चुनावमा आलम फेरि जिते । त्यतिबेला आलम कांग्रेसको रौतहट सभापति समेत थिए । त्यही चुनावको १ दिन पहिले २७ गते भएको बम बिष्फोटनमा परेर घाइते भएकाहरूलाई बेहोस पारेर जिउँदै इँटा भट्टामा लगेर खरानी बनाएको आरोपमा आलम अहिले पक्राउ परेका छन् ।

आलम चुनाव जिते पनि कांग्रेस देशमा पराजय भएको थियो । पहिलोबाट तेस्रो ठूलो दलमा खुम्चिएको थियो । पछि माधव कुमार नेपालको सरकारमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले उनलाई श्रम तथा यातायात मन्त्रीमा सिफारिस गरे । उनी मन्त्री पनि बने । आलम कोइरालासँग निकट थिए ।

भान्जाले नै हराए आलमलाई

रौतहटको राजपुर गाउँ आधार रहेको आलमको परम्परागत पारिवारिक बिरासत रहेको सीट बनेको थियो, रौतहटको संसदीय क्षेत्र नम्बर २ । प्रथम संविधान सभाको चुनाव जितेका आलमविरुद्ध उनकै आफ्नै भान्जा मुस्ताख राजाले पराजित गरिदिए । संयोग पनि कस्तो थियो भने पहिलो संविधान सभाको चुनावमा बम बिष्फोटबाट घाइते भएका व्यक्तिहरूलाई जुन इँटा भट्टामा जिउँदै जलाइएको थियो, त्यो इँटा भट्टा उनको त्यही भान्जा मुस्ताख राजाको थियो । राजा इँटा भट्टा उनले सञ्चालन गरेका थिए ।

आफ्नै परिवारको भान्जा मुस्ताखले विजय कुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट टिकट लिएर चुनावी मैदानमा ओर्लिए । शेख इद्रिशको भतिजा शेख फज्ले हकका अनुसार त्यति बेला परिबारमैं राजनीतिक विभाजन भयो । मुस्ताखलाई अन्य राजनीतिक दलका मानिसले उक्साए र चुनावमा उठिहाले । ‘परिवर्तन अभि नहीं तो कभी नहीं,’ नाराका साथआलमको विरुद्ध मुस्ताखले जबर्जस्त प्रचारबाजी गरे । र अन्ततः उनले विगतमा लगातार जित्दै आएका मामा आलमलाई पराजित गर्न सफल भए ।

शेखका भतिजा तथा परिवारजन

चुनाव जिते पनि मुस्ताख लामो समय बाँच्न सकेनन् । बिरामीका कारण उनको मृत्यु भयो । राजपुर फर्हदबाका स्थानीयका अनुसार चुनाव प्रचारको क्रममा आलमको विगतको अपराधकर्मको जानकार रहेका मुस्ताख विरुद्ध न त आलम नै आक्रामक भएर प्रस्तुत भए, न त मुस्ताख पनि उक्त घटनाको पोल खोले । आफू पनि फस्ने डरले चुनावी नारा बनाएनन् ।

त्यसपछि २०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा आलम फेरी पनि जिते । त्यही पारम्परिक पारिवारिक सीट रौतहटको २ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए ।  

शेख इद्रिशले कमाएको बिरासतका कारण रौतहटमा कांग्रेसको गढ नै स्थापित भएको थियो । आलमले आफ्नै भाइ महताब आलमलाई रौतहट कांग्रेसको सभापति समेत बनाउन खोजेका थिए । पहिलो पटक जिल्ला सभापतिमा लड्दा १ मतले पराजित भएका थिए भने दोस्रो पटक ५ मतले पराजित भएका थिए । दुवै पटक कांग्रेसका कृष्ण प्रसाद यादवले उनलाई पराजित गरेका थिए ।

आलमको प्रभाव उक्त जिल्लामा भएका कारण नै उनलाई रौतहटका मानिसले ‘रौतहट टाइगर’ समेत नाम दिएका थिए । कांग्रेसको गढ नै रौतहट हो र त्यो इद्रिश परिवारकै कारण पनि रहेको आलमका समर्थकहरू बताउँछन् । पछिल्लो प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा नेपाली कांग्रेसले ठूलो पराजय भोगेको छ । तर आलम परिवारकै कारण रौतहटको १८ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा कांग्रेसले विजय प्राप्त गरेको राजपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शेख अन्सारुल हक बताउँछन् । ४ वटा प्रतिनिधि सभामा २ वटा र ८ वटा प्रदेश सभामा २ वटा कांग्रेसले जितेर कांग्रेसको नाक राख्न सफल भएको उनको भनाइ छ ।

आलमका गाउँका मानिसहरू अहिले एकमत छन् । कुनै घटना नै भएको छैन, राजनीतिक पूर्वाग्रह राखेर आलमलाई १२ वर्षपछि फसाउन खोजेको उनीहरू बताउँछन् । तर प्रहरीले भने आलमको अपराधविरुद्ध थुप्रै प्रमाणहरू संकलन गरिसकेका छन् । शेख इद्रिशले कमाएको राजनीतिक विरासतमा राज गर्दै आएका आलमको आपराधिक कर्तुत अब बाहिर आइसकेका छन् ।

उनको आपराधिक साम्राज्यसँगै आलमको राजनीतिक साम्राज्य पनि ढल्ने निश्चित छ । तर आलम जेल जाँदैमा अन्य पार्टीले त्यहाँबाट चुनाव जित्छन् भन्ने कुरा गर्नु दिवा स्वप्न नै हुने गौरमा भेटिएका ईशनाथ नगरपालिका वडा नम्बर ३ का रोशन श्रीवास्तव बताउँछन् । एउटा आफ्ताब आलम जेल जाँदैमा उनीहरूकै परिवारबाट राजनीतिक उत्तराधिकारीको रूपमा अर्को नयाँ 'आलम' आउनेछन् । र कांग्रेसको गढलाई जोगाउने छन्, स्थानीय बताउँछन् ।   

salt training

कमेन्ट गर्नुहोस्