३१ जेठ २०८३, आइतबार

कांग्रेसलाई उम्मेदवार छान्नै सकस, तिहारलगत्तै केन्द्रीय समिति बैठक

कात्तिक ११, २०७६
कांग्रेसलाई उम्मेदवार छान्नै सकस, तिहारलगत्तै केन्द्रीय समिति बैठक
तस्वीर प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीटरबाट

काठमाडौँ - उपनिर्वाचनको सरगर्मी चलिरहेको बेलामा उम्मेदवार छान्न कांग्रेसभित्र छलफल चलिरहेको छ l आइतवार लक्ष्मीपूजाका दिन सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले उपनिर्वाचनसम्बन्धी केही नीतिगत निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् l

उपनिर्वाचनका लागि अधिकांश दलहरूले उम्मेदवार चयन गरिसकेका छन् l उपनिर्वाचनमा सर्वाधिक चासोका रूपमा हेरिएको कास्की क्षेत्र नम्बर २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ l

तर कांग्रेसभित्रको आन्तरिक किचलोका कारण गत बिहीवार दिउँसो बस्ने भनिएको केन्द्रीय समिति बैठक बस्न सकेन l उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेदेखि लिएर सम्पूर्ण रणनीति बनाउने भनिएको बैठक विभागको संख्या थप्ने कि नथप्ने भन्ने विवादमा गएर अल्झियो l

निर्वाचनका लागि उम्मेदवार तय गर्ने संसदीय बोर्ड २०७५ सालको बैशाखमै खारेज भएको थियो l संसदीय बोर्ड नभएपछि उम्मेदवार छान्ने जिम्मा केन्द्रीय समिति र सम्बन्धित जिल्लाका प्रतिनिधिहरूमाथि आएको छ l

'संसदीय बोर्ड नभएकाले हामीले पदाधिकारी तहमा छलफल गरेका छौं,' प्रवक्ता शर्माले लोकान्तरसँग भने, 'जागरण अभियानका क्रममा सम्बन्धित जिल्लामा जानुभएका केन्द्रीय नेताहरू, र सम्बन्धित जिल्लाका प्रतिनिधिहरू बोलाएर संयुक्त छलफल गर्नेछौं l'

सम्बन्धित जिल्लाका प्रतिनिधिहरूको राय सुझावका आधारमा उम्मेदवार तय गर्ने शर्माको भनाइ छ l '१४ गते पदाधिकारीहरूबीच उपनिर्वाचनका सबै विषयमा छलफल गर्ने र टुंगोमा पुग्ने गरी बैठक बोलाइएको छ,' शर्माले भने, 'त्यसपछि १५ गते बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गर्नेछ l'

आइतवार बसेको बैठकमा विवादित बनेको विभागको संख्या थप्ने या नथप्ने विषयमा केही कुरा नभएको शर्माले दाबी गरे l 'हामी अब सम्पूर्ण रूपमा उपनिर्वाचनमा केन्द्रित हुनेछौं,' शर्माले भने, 'अन्य विषय तत्कालका लागि गौण हुनेछन् l'

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २१ गतेदेखि मनोनयन प्रक्रिया शुरू हुँदैछ l 

salt training

कमेन्ट गर्नुहोस्