
काठमाडौं, २३ चैत — इस्लामिक स्टेट (आईएस) का आतंकवादीहरूले इराकको उत्तरी शहर टिक्रिटमा मंगलवार राति गरेको हमलामा १४ प्रहरी अधिकारी सहित कम्तीमा ३१ जनाको हत्या गरेको सुरक्षा तथा चिकित्सक स्रोतहरूले बताएका छन् । आक्रमणमा ४० भन्दा बढी घाइते भएका छन् ।

आतंकवादीहरूले प्रहरीको पोशाक लगाएर प्रहरीको गाडी प्रयोग गरेर शहरमा प्रवेश गरेका थिए । यो शहर राजधानी बगदादभन्दा १७५ किमि उत्तरतिर पर्छ ।
कम्तीमा दश आक्रमणकारी हमलामा सामेल रहेको बताइएको छ । त्यसमा दुईजना आत्मघाती आक्रमणकारी पनि थिए ।
‘कुल ३१ लाश अस्पतालमा राखिएका छन् र तिनमा १४ प्रहरी पनि छन्,’ चिकित्सक नव्फाल मुस्तफाले बताए ।
यससँगै पसलमा रहेका सर्वसाधारण नागरिक पनि मारिएका छन् ।
प्रहरीको चेकप्वाइन्ट र प्रहरीको कर्नेलको घरमा आक्रमण लक्षित थियो अनि कर्नेलको परिवारका उनीसहित चार सदस्य पनि मारिएका थिए ।
दुई आत्मघाती आक्रमणकारीले लगाइराखेको भेस्ट विस्फोट गराएका थिए भने तीन अन्य आक्रमणकारी फरक झडपमा मारिएका थिए ।
एजेन्सी