
काठमाडौं – इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादीको मृत्युपछि पश्चिम एसियाको राजनीतिमा परिवर्तन आउने अनुमान गरिएको छ ।
उग्रवाद अब कमजोर हुने र सिरिया जस्ता युद्धग्रस्त देशको स्थिति सुध्रिने आशा गरिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी चुनावमा बग्दादीलाई मारेको श्रेय लिने कोशिश गर्नेछन् ।
यस विषयमा अमेरिकाको डेलावेयर विश्वविद्यालयका प्राध्यापक तथा अन्तर्राष्ट्रिय मामिलाविज्ञ मुक्तदर खानको दृष्टिकोण बीबीसी हिन्दीमा प्रस्तुत छ :
अमेरिकालाई बग्दादी बसेको ठाउँको जानकारी केही हप्ताअघि मात्र प्राप्त भएको हो ।
बग्दादी इराकबाट भागेर सिरियाको इदलिब नजिक कतै लुकेर बसेको खबर मिडियामा आएको थियो ।
बग्दादी मारिएपछि ट्रम्प र अमेरिकालाई रणनीतिक तथा राजनीतिक फाइदा प्राप्त भएको छ ।
सिरियाका सम्बन्धमा ट्रम्पको नीतिको लगातार आलोचना भइरहेको थियो । आलोचना विपक्षी डेमोक्रेट्सले मात्र गरेको नभई रिपब्लिकहरू पनि त्यसको विरोधमा थिए ।
सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयको सार्वजनिक आलोचना ट्रम्पकै निकटवर्ती नेताहरूले गरिरहेका थिए । बग्दादी मारिएपछि अब दुवै दल मौन बनेको हुनुपर्छ ।
अर्को कुरा, बग्दादीलाई मार्नका लागि जसरी विस्तृत सैन्य कारवाही चलाइयो त्यसले आईएसका गतिविधि, नयाँ लडाकूलाई भर्ती गर्ने काम अनि उग्रवादको प्रचारप्रसारमा पनि असर पर्छ । आईएसलाई यस स्थितिबाट निस्कनका लागि समय लाग्नेछ ।
ओसामा बिन लादेनपछि बग्दादी मारिनु आतंकवादविरुद्धको ठूलो जीत हो । तर लादेन मारिएपछि पनि अल कायदाको अन्त्य नभएको र आतंकवाद पनि परास्त नभएको कुरा हामीले भुल्न हुँदैन । बग्दादी मारिनेबित्तिकै आईएस वा आतंकवाद सकियो भन्ने हैन ।
टर्कीले उत्तरपूर्वी सिरियामा कारवाही चलाउँदा सिरिया अझै शान्त हुन सकेको छैन ।
तर सिरियामा आईएसले फेरि प्रभाव जमाउन कोशिश गरिरहेकोमा ढिलाइ आउने र अप्ठ्यारो हुने चाहिँ देखिएको छ किनकि उससँग बग्दादी जस्तो नेता छैन ।
सिरियामा सबै कुरा गतिशील भएको हामीले याद राख्नुपर्ने हुन्छ । उदाहरणका रूपमा, कुनै समय अल कायदाका समूहहरू थिए, नुसरा फ्रन्ट भन्ने थियो र त्यसले अप्रत्यक्ष रूपमा अमेरिकालाई साथ दिएर आईएससँग लडिरहेको थियो । अनि एक समयमा त अल कायदा र अमेरिका एकसाथ लडिरहेका थिए ।
आईएसका लडाकूहरू अन्य समूहमा जाने सम्भावना पनि छ । उनीहरू सिरियाली सेनामा पनि जान सक्छन् । सिरियाली अरब सेनामा पनि उनीहरू जान सक्छन् । अर्थात् उनीहरूलाई अन्य विकल्प पनि उपलब्ध छ । आईएसले उनीहरूलाई तलब दिने गर्थ्यो, अरू समूहले पनि दिनेछन् ।
कुर्दहरूलाई धोका दिएको भनेर ट्रम्पको चौतर्फी आलोचना भइरहेको बेलामा बग्दादीमाथिको कारवाहीले ट्रम्प प्रशासनलाई राहतको सास लिन सहज बनाएको छ । मध्यपूर्वमा अमेरिका अझै पनि एक शक्ति भएको यसबाट देखिनेछ ।
आईएसका लडाकूहरूले सिरिया र इराकमा उनीहरूको भविष्य कमजोर छ भन्ठाने भने अन्यत्र जानेछन् । सन् २०१८ मा पनि उनीहरू आईएसबाट अलग्गिएर अफ्रिका गएका थिए । तीमध्ये केही बोको हराममा पसे भने केहीले अफगानिस्तानमा शरण लिए । अहिले उनीहरू त्यहाँ बलियो भएर बसेका छन् । तालिबानले समेत उनीहरूलाई हटाउने ग्यारेन्टी दिन नसकेपछि अमेरिकी सेना त्यहीँ बसिरहनुपरेको छ ।
आईएस छिन्नभिन्न भएछ भने पनि उसका लडाकूहरू फरक फरक देशका उग्रवादी संगठनमा जोडिनेछन् ।
अनि युरोप तथा अन्य ठाउँबाट लडाकू बन्न गएका युवा देश फर्किएपछि देशका लागि खतरा बन्न सक्छन् ।
आईएसको संगठनको रेकर्ड निकै राम्रो देखिन्थ्यो, त्यसैले युवाहरू त्यसमा भर्ना हुन आकर्षित थिए । बग्दादीको मृत्युपछि त्यस रिक्रुटमेन्टमा कमी आउनेछ ।
बीबीसी हिन्दीबाट