
गलेश्वर – बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो ।
बाजेको पालादेखि शुरू गरेको भेडापालनले नातिको पुस्तासम्म आइपुग्दा व्यावसायिक रुप लिइसकेको छ ।
बाग्लुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।
४४ वर्षीय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुंगा र स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउँदै आएको बताए । विकले आफ्ना ५२ वटा भेडालाई बिहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो ।
१२ वर्षको उमेरदेखि भेडा चराउने पेशा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउँछन् ।
विकसँगै भेडा चराउन म्याग्दीको जंगलमा आएका बाग्लुङका बुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँगै जंगलमा नै बिताए । ‘बालापन र वैंश दुवै यसैमा बित्यो हजुर, अब त यसैमा आनन्द छ,’ आफ्ना ४२ वटा भेडालाई खेद्दै ओरालो झर्दै गरेका मगरले भने, ‘जापान पनि यही हजुर कोरिया नि यहीँ ।’
ठट्यौलो स्वभावका विक र मगरका भेडाहरू पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिनेभन्दा फरक छ ।
विक भन्छन्, ‘एउटा भेडाको मूल्य ५ हजारदेखि ५० हजार रुपैयाँसम्म पर्छ । वर्षमा ५/७ लाख रुपैयाँ कमाइ हुन्छ ।’
मगरले पनि भेडा बिक्री गरेर वर्षमा ५ लाख रुपैयाँभन्दा बढी कमाउने गरेको बताए । मासिक सरदर ५० हजार रुपैयाँ कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जंगलको चरनमा नै रस बसेको छ । मगर भन्छन्, ‘अमेरिका अस्ट्रेलिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै ।
सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुबी भएका यी २ भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो । आफ्नो नजिकको जंगल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरूको भनाइ छ ।
‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौं,’ मगरले भने, ‘सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो, हामीलाई त वन खुला गर्दिए हुन्थ्यो ।’
विक र मगरजस्तै धम्जामा ९ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरू सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव । – धु्रबसागर शर्मा/रासस