
मुस्ताङ -सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउने तयारी भएको हो ।
एक वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिकहरुको टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज प्रस्तावित विमानस्थल निर्माण गरिने ठाउँको निरीक्षण गरेका छन् ।
मन्त्री भट्टराईले प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनको आधारमा विमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर कार्यान्वयनमा लैजाने बताए । डिपिआर बनाउन प्राविधिक टोली पठाउने जानकारी दिए ।
‘अनुकूल भूगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिने प्राविधिक टोलीको सुझाव छ,’ मन्त्री भट्टराईले भने, ‘दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा स्थानीय वासिन्दाको जनजीवनलाई सहज बनाउन विमानस्थलले सहयोग पु¥याउनेछ ।’