
महोत्तरी – देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा १ लाख ५० हजार रुपैयाँभन्दा बढी संकलन भएको छ ।
बर्दिवास सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनमा सोमबार बर्दिवासचोकमा आयोजित ‘संस्कृति जगेर्नासहित सरसफाइसम्बन्धी देउसीभैलो’ कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ संकलन भएको हो । संकलित रकम बर्दिवासको सरसफाइ अभियानमा खर्चिने भएकोे छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेता एवं जनप्रतिनिधिले देउसीभैलोलाई सरसफाइ अभियानसँग जोड्दै ऐक्यबद्धता जनाउनाका साथै बर्दिवासको सरसफाइ अभियान सबैको साझा बनेको बताएका थिए । त्यस अवसरमा कलाकारले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
स्थानीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिले शुरू गरेको अभियान अहिले नवौं हप्तामा टेकेको छ । नगरको सरसफाइमा सबैलाई सरिक बनाउने उद्देश्यअनुरुप अघि बढ्दै आएको समितिका अध्यक्ष चुडामणि पोखरेलले बताए ।
गत साउन अन्तिम साता सबै पक्षको प्रतिनिधित्व गराएर गठन गरिएको समितिले नगरमा दैनिक सरसफाइ, अनुगमन र संयोजन गर्दै आएको छ ।