
बाँके – सहकारी वित्तीय विकास संस्थाका पीडितले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ ।
गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । ईद, बकर ईद, दशैं र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन् ।
आवश्यकता परेका बेला बचतकर्ताले राखेको रकम फिर्ता पाउन नसकेपछि उनीहरूमा तनाव र आक्रोश बढेकाले रकम फिर्ताका लागि पटक–पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुंगो छैन ।
‘बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्,’ रकम फिर्ताका लागि पहल गर्न गठित संघर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्छन् ।
नेपालगञ्ज–१७ परसपुरका अकबाल बेहना ८ लाख रुपैयाँभन्दा बढी रकम सहकारीमा फसेको र पर्वका बेला पनि पैसा नपाएको गुनासो गर्छन् । १० लाख रुपैयाँ सहकारीमा बचत गरेका प्रेमलाल लोहार अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको सुनाउँछन् ।
आफ्नो रकमका लागि काम छाडेर आन्दोलनमा गर्नु परिरहेको पीडितहरू बताउँछन् । बिर्ताका बिर्खु प्रसादले पनि अप्ठ्यारो पर्दा काम लाग्छ भनेर राखेको ६ लाख रुपैयाँ बताउँछन् ।
सहकारी समस्यामा आएपनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्ने लगायतको प्रयास भएपनि सफल हुन सकेन । धितो राखेर ऋण लिएकाहरू कहाँ ऋण तिरेर आफ्नो बन्धक रहेको सम्पत्ति फिर्ता लिने हो भन्ने अन्योलमा छन् ।
प्रहरीले अनुसन्धानपछि ४१ जनाविरुद्ध अदालतमा दायर गरेकामा उनीहरूको बयान सकिएपछि थुनछेक बहस शुरू भइसकेको छ । तिहार बिदाका कारण रोकिएको बहस अदालत खुलेपछि शुरू हुने भएको छ ।