
तुलसीपुर – चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइएपनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन ।
चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएकोभन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
लिमिटेडले प्रत्येक वर्ष दशैं, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई सहुलियतको चामल उपलब्ध गराउँदै आएकामा यस वर्ष २०० क्विन्टल जिरा मसिनो र २०० क्विन्टल सोना मन्सुली चामल ल्याएपनि हालसम्म दुवै चामल गरी २९ क्विन्टल मात्रै बिक्री भएको छ ।
कार्यालय प्रमुख माधव मिश्रका अनुसार भदौ अन्तिम सातादेखि सहुलियतमा चामल वितरण गर्न शुरु गरिएको र अहिलेसम्म सोना मन्सुली १ क्विन्टल ५० किलो र जिरा मसिनो चामल २६ क्विन्टल ५० किलो मात्रै बिक्री भएको छ ।
गत वर्ष ६०० क्विन्टल चामल ल्याइएकामा सबै बिक्री नभएकाले यस वर्ष ४०० क्विन्टल मात्रै चामल ल्याइएको थियो तर त्यो पनि उल्लेख्यरूपमा बिक्री हुन नसकेको उनी बताउँछन् ।
खाद्य संस्थानले जिरा मसिनो चालम न्यूनतम २५ केजी र सोना मन्सुली न्यूनतम ३० केजीका दरले बिक्री गर्दै आएको छ । दुवै प्रकारका चामलमा ५०० रुपैयाँ छूट गरिएको छ । अहिले जिरा मसिनोको बजारमूल्य प्रतिक्विन्टल ५ हजार ६०० रुपैयाँ पर्ने भएपनि छूटमा ५ हजार १०० रुपैयाँमा पाइने प्रमुख मिश्र बताउँछन् ।
सोना मन्सुलीको बजार मूल्यप्रति क्विन्टल ४ हजार ७०० रुपैयाँ पर्ने भएपनि सहुलियतमा ४ हजार २०० रुपैयाँ पर्ने उनको भनाइ छ ।
उपभोक्ताले भने संस्थानले वितरण गर्दै आएको चामल गुणस्तर नभएको गुनासो गर्दै आएकामा प्रमुख मिश्र आफूहरूले गुणस्तरहीन चाम बिक्री नगरेको बताउँछन् ।