
काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको दुईदिने भ्रमणमा छन् । यही २९ र ३० अक्टुबर उनी साउदीमा रहनेछन् । जम्मु कश्मीरलाई विशेष अधिकार दिने धारा ३७० खारेज भएपछि मोदीको यो पहिलो साउदी भ्रमण हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोदीले कश्मीरमा आफूले चालेको कदमको पक्षमा साउदीलाई आउन आग्रह गर्नेछन् ।
प्रधानमन्त्री मोदीलाई साउदी भ्रमणका क्रममा आफ्नो आकाश प्रयोग गर्न पाकिस्तानले दिएको थिएन । पाकिस्तानको यस्तो रवैयाका विरुद्ध मोदी अन्तर्राष्ट्रियस्तरमै सहमति जुटाउने कोशिसस्वरूप साउदीको भ्रमणमा गएको विश्लेषण गर्न थालिएको छ ।
कश्मीर र अन्य तमाम विवादमा जेलिएका भारत पाकिस्तान दुवै आफ्ना लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिसमा छन् । साउदी अरब र पाकिस्तान धेरै पहिलादेखि राम्रो सम्बन्ध भएका देशहरू हुन् । यसकारण मोदीको साउदी भ्रमणलाई पाकिस्तानका सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ ठाउँ दिएका छन् ।