०६ असार २०८३, शनिबार

कैदीबन्दीलाई तिहार मनाउन वडाध्यक्षले दिए खसी

कात्तिक १२, २०७६
कैदीबन्दीलाई तिहार मनाउन वडाध्यक्षले दिए खसी

सुर्खेत - कारागारका कैदीबन्दीलाई जुम्लाकाे चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् ।

चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गरेका हुन् । तिहारको भाइटीकाको दिन आज बिहान वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका तीन जना महिलासहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गरे ।

उनले रु १२ हजार बराबरको खसी उपलब्ध गराएका हुन् । खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भने, ‘दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरुले रमाएर दशैँ–तिहार मनाए ।’

वडाध्यक्षले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव पनि दिए ।

यसअघि दशैँमा पातारासी गाउँपालिकाले दशैँ मनाउन खसी प्रदान गरेको थियो । चाडपर्व हर्षोल्लासका साथ मनाउन भन्ने उद्देश्यले गाउँपालिकाले दुई वटा खसी प्रदान गरेको थियो ।

साथै आवश्यक मसला र नुनतेलका लागि नगद रु तीन हजार पनि उपलब्ध गराएको थियो ।

कारागारमै भाइटीका 

विभिन्न मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारमै भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीहरुमध्ये आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देशविदेशमा रहनुभएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

टीका लागि कारागारले ठाउँ र समयको व्यवस्थापन गरिदिएको जेलर जङ्गबहादुर राईले बताए । टाढाटाढाबाट आएका दिदीबहिनीहरुका लागि आवश्यक समय व्यवस्थापन गरिदिएको कारागार शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदी बन्दीहरु रहेका छन् ।

कारागारमै पुगे दिदीबहिनी  तनहुँ

जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीले आज कारागारभित्रै भाइटीका लगाएका छन् । हरेक वर्ष झैँ कैदीबन्दीले यस वर्ष पनि कारागारभित्रै आ–आफ्ना दिदीबहिनीका हातबाट टीका लगाएका हुन् ।

टीका लगाउन कारागार प्रशासनले व्यवस्थापन मिलाएको सहायक जेलर नारायण अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार टीका लगाउन साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । कूल ३५ जनाको क्षमता रहेको कारागारमा हाल थुनुवा र कैदी गरी १४१ जना कैदीबन्दी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्