
काठमाडौँ– नेपाल समूदायले बुधबार पनि तिहार मनाउँदैछन् । यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले केही नेवार समुदायले बुधबार भाइटीका तथा किजा पूजा गरी मनाउन लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने मंगलबारको लागि भाइटीकाको तिथि निकालेको थियो । सोही अनुसार मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै भाइटीका मनाइएको थियो ।
भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
यसैबीच किजा पूजाको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
नेवारी समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भन्दै बिदा माग भएबमोजिम सरकारले बिदा दिने निर्णय गरेको हो ।