
काठमाडौं – जर्मनीमा शरण दिएर राखिएको एक बघिनीले खेलौनो टोक्दा दाह्रा भाँचिएपछि सुनको दाँत जडिएको छ ।
कारा नाम दिइएको बंगाल बाघलाई केही दिनअघि सुनको दाँत हालिएको हो । मासवेलर शहरमा रहेको जनावर संरक्षण केन्द्रमा बघिनीले खेलौना टोक्दा दाँत भाँचिएको थियो ।
डेनमार्कबाट आएका दन्तचिकित्सकहरू टीएरार्ट शरण केन्द्रमा नयाँ दाँत लगाउनका लागि दुईपटक पुगेका थिए । पहिलोपटक उनीहरूले दाँतको नमूना लिनका लागि दुई घन्टा अपरेसन गरेका थिए भने अर्कोपटक दाँत जडान गर्नका लागि डेढ घन्टा अपरेसन गरेका थिए ।
काराको फुटेको दाँतमा सुनको क्राउन जडान गरेर विशेष ग्लू र परावैजनी किरणले त्यसलाई दह्रो गरी अड्याएका थिए ।
उक्त अपरेसन गरेको तीन हप्तापछि बघिनीले दाँतको सामान्य उपयोग गर्न थालेकी छ ।
नयाँ दाँत जडान गरेपछि बघिनीले त्यसलाई चाटिरहेको किनकि उसलाई मुखभित्र त्यो दाँत अनौठो लागेको शरण केन्द्रका अधिकारीहरूले बताए ।
दाँत पक्का नहुन्जेल उसलाई हाडरहित मासु खान दिइएको थियो ।
जीववैज्ञानिक एभा लिन्डेनस्मिटले भनिन्, ‘काराले अब राम्ररी टोक्न सक्छिन् र सुनको दाँत देखाएर मुस्काउँछिन् ।’
कारालाई सन् २०१३ मा इटालीको मुग्नानोस्थित फार्महाउसमा भेटिएको थियो र सन् २०१५ मा जर्मनी ल्याइएको थियो ।
एजेन्सी