
काठमाडौं – केन्याको एल्डोरेट विमानस्थलबाट उडेको सिल्भरस्टोन एयरलाइन्सको एक विमानको चक्का खसेको छ ।
चक्का खसेको थाहा पाएपछि क्याप्टेनले लोडवार विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । उक्त विमानस्थल एल्डोरेटबाछ २३८ माइल पर छ ।
विमान सोमवार बिहान राजधानी नैरोबी जानका लागि उडेको थियो ।
‘विमान सुरक्षित रूपमा अवतरण गराइएको छ,’ एयरलाइनले एक बयान जारी गरेर जानकारी दियो ।
यात्रुहरूलाई राजधानी जानका लागि अर्को विमानमा राखिएको थियो ।
एयरलाइनकी एक प्रवक्ताले विमानमा रहेका यात्रुको संख्या बताउन चाहिनन् र घटनाको अनुसन्धान गरिरहेको जनाइन् ।
यसै महिनाको आरम्भतिर ५५ यात्रु बोकेको सिल्भरस्टोन एयरलाइन्सकै अर्को विमान नैरोबीमा धावनमार्गबाट चिप्लिएर रुखहरूमा ठोकिएको थियो । त्यसक्रममा केही यात्रुहरू घाइते भएका थिए ।
मानिसहरूले एयरलाइन्सबाट यात्रु सुरक्षामा ध्यान नपुगेको भन्दै आलोचना गरेका छन् ।
एजेन्सी