
काठमाडौँ – स्वास्थ्यमा समस्या आएपछि ग्र्यान्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो देखिएपछि बुधवार डाक्टरहरूले अस्पतालमै आराम गर्न सुझाव दिएका छन् ।
अस्पतालनिकट स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यपरीक्षण रिपोर्ट आउन अझै एक दिन लाग्ने भएपछि उनलाइ अस्पतालमै आराम गर्न सुझाव दिइएको हाे ।
बुधवार बिहान करीब १० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई साढे ११ बजे आइसीयुमा भर्ना गरिएको थियो । ओलीलाई भेट्न आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य फलोअपका लागि आएकाले केही बेरमै डिस्चार्ज हुने बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पनि नियमित स्वास्थ्यपरीक्षण भएकाले समय नलाग्ने बताएका थिए । तर अपरान्ह अचानक ओलीलाई ज्वरो बढेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
ओलीको उपचार उनका निजी चिकित्सक दिव्यासिंह शाह र सुवास आचार्यले गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गाैला प्रत्यारोपण भएका कारण पटक–पटक स्वास्थ्यमा समस्या देखिने गरेको छ ।
स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किए ।
उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । सिंगापुरबाट फर्किएपछि पनि ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएन ।
त्यसपछि प्रधानमन्त्री ओलीलाई १ हप्तापछि नै भदौ ५ गते सिंगापुर लगियो । ओली २ हप्तापछि भदौ २० गते उपचार सकेर स्वदेश फर्किए ।
सिंगापुरमा उपचार गरेको २ महिना नपुग्दै फेरि बुधवार ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य उपचारका लागि बुधवार ग्राण्डी अस्पताल लगिएको छ ।
साउन–भदौमा ओलीको शरीरमा ‘एन्डीबडी’ मात्रा बढेपछि सिंगापुर लगिएको थियो । मृगौला प्रत्यारोपणपछि प्रयोग गरिएको औषधि परिवर्तन भएकाले त्यसको असर बुझ्न र एन्डीबडीको मात्रा घटाउन ओली सिंगापुर गएका थिए ।
मंगलवार तिहारको भाइटीका लगाएको भोलिपल्ट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको नेकपा स्रोतले जनाएको छ । मृर्गाैला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्य संवेदनशील छ ।
दशैंतिहारको टीका र भीडभाडका कारण हुने संक्रमणले गत वर्ष समेत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो ।