
काठमाडौं-मोरङ, बारा, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित सडकमा को.२९ प २७८४ नम्बरको मोटरसाइकल र को.३२ प ८७५० नम्बरको स्कुटर एकआपसमा मंगलबार राति ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा मेची नगरपालिका-१२ बस्ने १८ वर्षीय एलिस भारतीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाराको महागढीमाई नगरपालिका-१ सिमराते गछिया चोकमा ना.३७ प २९ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका चालक कलैया उपमहानगरपालिका-१ बस्ने २० वर्षीय नितेश यादवको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ आल डाँडामा बा.५८ प ४९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-६ पिपलडाँडा बस्ने १९ वर्षीय अनिष कुँवरको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका-२ सोक्लामा बा.१४ च ७६७ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी २५ फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार भिमेश्वर नगरपालिका-२ डाडागाउँ बस्ने भोज बहादुर वलीकी ९ वर्षीया छोरी रोशनी वलीको प्राथामिक स्वास्थ्य केन्द्र चरीकोटमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सहित अन्य ५ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।