काठमाडौँ, २३ चैत - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी २०७४ वैशाख ३१ गते निर्वाचन गराउने दिशामा आयोग केन्द्रित भएको बताएका छन् ।

सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलाई आज निर्वाचनबारे ब्रिफिङ गर्दै प्रमुख आयुक्त यादवले भने , “आयोग वैशाख ३१ गते निर्वाचन गराउन सम्पूर्णरूपले तयारीमा जुटेको छ, राजनीति तह र मिडियामा आएका विषयमा आयोग पछि लाग्दैन ।”
“दुई चरणमा निर्वाचन हुनुपर्ने भन्ने विषयमा राजनीतिक तहमा छलफल चलेको भनेर मिडियामा आएको हामीले पनि सुन्यौँ तर सुनेको आधारमै आयोगले आफ्नो धारणा बनाउँदैन, आयोग आफ्नो कार्यतालिका अनुसार नै काम गरिरहेको छ ।”
एक प्रश्नको जवाफमा उनले भने , “व्यवस्थापिका–संसद्ले बनाएको स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले काम गर्ने हो, ऐनमा संसद्मा प्रतिनिधित्व गरेका दललाई दलको निर्वाचन चिह्न पाउने र अन्य दलले स्वतन्त्र निर्वाचन चिह्न पाउने व्यवस्था गरेको छ, आयोगले त्यसै आधारमा काम गर्ने हो ।”
स्थानीय तह निर्वाचन ऐनको दफा २६ को छ र ७ मा निर्वाचन चिह्नसम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार, संसद्मा रहेका २७ दलले दलीय निर्वाचन चिह्न पाउने व्यवस्था छन् भने आयोगमा दर्ता भएका अन्य सबै दलले स्वतन्त्र निर्वाचन चिह्न पाउनेछन् । आयोगमा हाल ११३ दल दर्ता भएका छन् ।
प्रमुख आयुक्त यादवले भने , “आयोगले दिएको निर्वाचन चिह्नबाट केही राजनीतिक दलले निर्वाचन चिह्न पाउनु भएन, कानुनी व्यवस्था नै त्यस्तो छ, यसले आयोगलाई गम्भीर बनाएको छ तर आयोगले अब पुनर्विचार गर्न पनि सक्दैन, आयोग धेरै अगाडि बढ्यो ।”