
चितवन –नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।
नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भने दुर्लभ एकसिङे गैँडा आफैँ पर्यटकलाई आकर्षित गर्दैछन् । चितवन राष्ट्रिय निकुञ्ज छोएर बग्ने राप्ती नदी किनारमा रहेको सौराहामा पर्यटक आउने सिजनसँगै जङ्गलबाट पर्यटक नगर विचरण गर्ने दुर्लभ गैँडाको सङ्ख्या पनि बढ्दै गएको छ । बिहीबार बिहान जर्मनी, अमेरिका, बेलायत, भारतलगायत देशबाट सौराहा घुम्न आएका पर्यटकले जङ्गल नै नपसी नगरमै दुर्लभ गैँडा अवलोकन गर्न पाए ।
जङ्गल सफारीमा जाने तरखर चल्दै गर्दा ठूलो भाले गैँडा एकाबिहानै नगर पसेपछि पर्यटकले सफारी जाने जिप छाडे । होटलका पर्खाल र सुरक्षित स्थानबाट खेतमा पसेको गैँडा हेरे । फोटोमा दुर्लभ एकसिङे गैँडालाई कैद गरे । कतिले सेल्फी पनि खिच्न भ्याए । धान काटिसकेको बाँझो खेतका छेउछाउ र होटलका तारबारबाट लर्किरहेका हरिया लहरा, रूखका डालीलाई आहरा बनाउँदै गैँडा अगाडि बढ्यो । 'यता फर्क यता फर्क”, जर्मन नागरिकले आफ्नै भाषामा भन्दै थिए, “धेरै यता नआऊ है, फेरि मलाई सिङले घोप्लाऊ नि ।'
विदेशी पर्यटक बोलाउँदै गैँडा अवलोकन गराउन तल्लीन पर्यटन व्यवसायी शिरलाल परियारले पर्यटकले बोलेका कुरा उल्था गरेर सुनाए। गैँडा नगर पसेपछि पर्यटकलाई निकै सहज भएको उनी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसँगै सौराहाको पर्यटन प्रवद्र्धनमा गैँडाले सघाइरहेको परियारको भनाइ छ ।
संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीकाराम गिरीले यसरी दुर्लभ गैँडा पर्यटन नगरमा पस्दा स्थानीयवासीले संरक्षण गर्दै पर्यटक आकर्षण गर्ने प्रयास गरिरहेको जानकारी दिए । 'तीनवटा गैँडा दिनभरि नगर र जङ्गल छेउको आहालमा खेल्छन् अनि साँझ परेपछि नगर भ्रमणमा निस्कन्छन्”, गिरीले सुनाउनुभयो, “रातमा पनि पर्यटक खान भुलेर गैँडा हेर्दै रमाउँछन् ।'
केही वर्षअघि एकदुईवटा गैँडा सौराहा पस्दा पर्यटकमा त्रास पलाउँथ्यो । नजिक पर्ने जमर्को कमै गर्थे । 'यसपाला त पाँचवटा गैँडा सौराहामा पालैसँग आउने गर्न थालेका छन्', राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले भने'खाना खोज्नकै लागि “गाउँ डुल्न आएका हुन् । ” ठूला गैँडा सहर पस्दा साना गैँडा भने जङ्गल छेउतिरै बस्ने गर्छन् । जब ठूला गैँडा जङ्गल पस्छन् तब साना गैँडा निर्धक्क सहर डुल्ने अनुभव अर्यालले सुनाए । गोरखापत्र दैनिकमा खबर छ ।